Logo

संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता र पहिचानलगायतको एजेण्डामा माओवादी केन्द्र टसमस हुँदैनः प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुक ठूलो दुर्घना हुनबाट जोगिएको बताउनुभएको छ । शुक्रबार विहान माओवादी केन्द्र सोलुखुम्बु जिल्लाको टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले केपी ओलीको प्रतिगामी कदमलाई सच्चाउनका लागि निक्कै ठूलो पहल कदमी लिनुपरेको चर्चा गर्दै अझै पनि देशी विदेशी शक्तिहरु सल्बलाईरहेकोतर्फ सचेत हुनुपर्ने जोड दिनुभयो ।

उहाँले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, पहिचानलगायतको एजेण्डामा माओवादी केन्द्र एक ईन्चपनि तलमाथि नगर्ने भन्दै त्यसलाई संगठनमा बदल्ने ठोस कार्यक्रम अगाडि बढाइसकिएको बताउनुभयो । उहाँले जसको नीति उसैको नेतृत्व भन्ने मन्त्रका साथ पार्टी सुदृढिकरण अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टीको विधान र पार्टीको ठोस कार्यक्रम अब छिट्टै तयार हुने विश्वास दिलाउँदै उहाँले पार्टी संगठन निर्माणका लागि आफु सोलुखुम्बु जिल्ला आउन तयार रहेकोसमेत स्पष्ट पार्नुभयो ।

एक अर्को प्रसंगमा निश्चित मापदण्डका आधारमा देउवा सरकारमा माओवादी केन्द्रको तर्फबाट मन्त्री बनाउनेगरी आफु लागिरहेको पनि उहाँले बताउनुभयो ।

माओवादी केन्द्र सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष गोम्बु शेर्पा (कज्र्याङ) र सचिव असिम राईको नेतृत्वमा गएको जिल्ला प्रतिनिधिमण्डलमा महाकुलुङ गाउँपालिकाका जननिर्वाचित अध्यक्ष सागर किराती, लिुखुपिके गाउँपालिकाका जननिर्वाचित अध्यक्ष डम्बर बहादुर बस्नेत (शान्ता), माओवादी केन्द्रका जिल्ला कार्यलय सदस्य निमातेण्डुप शेर्पासँगै जिल्लाको विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।

जिल्लको प्रतिनिधिमण्डलको तर्फबाट बोल्ने अधिकांशले पार्टी संगठनलाई ऊर्जा प्रदान गर्नका लागि पार्टीले अभिलम्ब विधान तयार गर्नुपर्ने, ओली सरकारले संघीयतालाई निमोठ्नेगरी अगाडि बढाएको गलत कार्यलाई सच्चाउनुपर्ने तथा स्थानीय तहलाई संविधानत स्रोत साधन उपलब्ध गराउनको लागि पहल गरिनुपर्ने, निश्चित मापदण्ड तयार गरेर त्यसैको आधारमा पार्टीको तर्फबाट मन्त्री बनाउनुपर्ने, प्रदेश नम्बर १ को नामाकरण गर्दा पार्टीले आफ्नो एजेण्डालाई स्थापित गर्नुपर्ने, सोलुखुम्बु जिल्लाको दीर्घकालिन विकास र सम्बृद्धिसँग जोडिएको फास्टट्याकलगायतको पूर्वाधार विकासका लागि नेतृत्व तहबाट सहजीकरण गरिदिनुपर्नेलगायतको विषय उठान गरेका थिए । यसैबीच, अध्यक्ष प्रचण्डलाई सोलुखुम्बु आउने मौखिक निम्तोसमेत दिइएको छ ।

प्रकाशित मिति : शुक्रबार, २२ श्रावण २०७८ १०:०८

Archives

प्रतिक्रिया दिनुहोस्