Logo

माप्य दुधकोशीको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी यादवलाई


सोलुखुम्बु । सोलुखुम्बु जिल्ला, माप्य दुधकोशी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी जितेन्द्र कुमार यादवलाई दिइएको छ ।

गाउँ कार्यपालिकाको रिफारिसमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार यादवलाई सो जिम्मेवारी दिएको हो ।

हाल गाउँपालिकामा स्वस्थ्य शाखा प्रमुखको रुपमा कार्यरत यादवले अब मन्त्रालयले तोकेबमोजिम निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य सम्पादन गर्नेछन् । विसं २०६० सालदेखि माप्य दुधकोशी गाउँपालिकामै स्वास्थ्य क्षेत्रमा निरन्तर कार्यरत उनी अधिकृत स्तर छैटौ तहको कर्मचारी हुन् ।

गाउँपालिकामा अनेक चुनौतिहरु छन् नि भन्ने प्रश्नको जवाफमा नवनियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले सबैखाले चुनौतिहरुको सामना गर्दै प्रभावकारी सेवा प्रवाहमा आफ्नो जोड रहने बताए । विविध कारणले गाउँपालिकाको बेरुजु आएको र त्यसमा पनि धेरैजसो सैद्धान्तिक बेरुजु देखिएको भन्दै उनले त्यस्ता बेरुजुहरुलाई फस्र्यौट गर्न आफुहरु लाग्ने पनि बताए ।

पछिल्लो पटक नियमसंगत सम्पन्न भएका योजनाहरुको भुक्तानी दिने, चालु आर्थिक वर्षको गाउँपालिकाको योजना तथा कार्यक्रमहरुलाई अगाडि बढाउनेलगायतको काममा तदारुकताका साथ लाग्ने प्रतिबद्धतासमेत उनले जनाए ।

प्रकाशित मिति : सोमबार, १८ आश्विन २०७८ १८:२०

Archives

प्रतिक्रिया दिनुहोस्