Logo

सोलु–दूधकोसीको मुख्य सुरुङ ब्रेक ‘थ्रु’, ६ महिनाभित्र विद्युत उत्पादन


काठमाडौं । सोलुखुम्बुमा निर्माण भइरहेको ८६ मेगावाटको सोलु खोला (सोलु–दूधकोसी) जलविद्युत आयोजनाको मुख्य सुरुङ वारपार (छिचोलिएको) भएको छ । कूल ७६५४ मिटर लामो सुरुङ हिजो बुधबार (असोज २० गते) अपरान्हतिर सकिएको घोषणा गरिएको छ ।

आयोजनाको सबैभन्दा जटिल मुख्य सुरुङ छेड्ने (खन्ने) काम पूरा भएको प्रवर्द्धक साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिमप्रसाद पाठकले बताए । उहाकाअनुसार सिभिलतर्फ ७६ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । बाँध क्षेत्रमा पनि सबै संरचनाको निर्माण पूरा भइसकेको छ । अहिले पेनस्टक पाइप जडान भइरहेको छ, विद्युतगृहमा सिभिलको काम अन्तिम चरणमा पुगेको छ ।

विद्युतगृहमा हाउजिङ राखिएको र बर्खामा ढुवानी समस्याका कारण टर्बाइन आइन ढिलो भएको हुँदा जडान बाँकी रहेको उनले बताए । उनका अनुसार विद्युतगृह नजिक स्वीचयार्ड निर्माण भइरहेको र बर्खा सकिएलगत्तै भारतबाट इलेक्ट्रो मेकानिकल उपकरण आयात गरी जडान सुरु हुनेछ । अब कुनै अवरोध नआए २०७८ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ ।

आयोजनाबाट उत्पादित विद्युत १३२ केभी सोलु कोरिडोर (प्रसारण लाइन) को तिन्लास्थित लम्माने सबस्टेसनमा जोडिने गरी नेपाल विद्युत प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट (जडान सम्झौता) भएको छ । सबस्टेसनसम्म आवश्यक १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनीले नै निर्माण गरिरहेको छ ।

आयोजनाबाट वार्षिक ५२० गिगावाट घन्टा (५२ करोड युनिट) विद्युत उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र वर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत उत्पादन हुनेछ ।

अनुमानित लागत ११ अर्ब ८६ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी रहेको छ । जसमा २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयर निष्कासनबाट जुटाइनेछ ।

सोलु खोला बेसिनमा सोलु–दूधकोसी बाहेक ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसी लगायत आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।

प्रकाशित मिति : बिहीबार, २१ आश्विन २०७८ ०९:५७

Archives

प्रतिक्रिया दिनुहोस्