Logo

सोलुखुम्बुमा पहिलो पटक रात्रीकालिन खेल


अर्जुन खालिङ राई

सोलुखुम्बु : स्टार यूथ क्लब, सोलुखुम्बुले आफ्नो स्थापनिा दिवसको अवसरमा आयोजना गरेको प्रदेश नं. १ स्तरीय महिला तथा सोलुखुम्बु जिल्ला अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगीताको तेस्रो दिनबाट नाइट गेम सुरु भएको छ । हिमाली जिल्लाहरुमा नाइट गेम खेलाइएको यो पहिलो हो । स्टार यूथ क्लबले झापा रातो र खोटाङ जिल्लाबीच भएको महिला खेलको दोस्रो सेटबाट नाइट गेम सुरु गरेको हो । उसले समय सीमाभित्र खेल सक्नुपर्ने भएकाले नाइट गेम सुरु गरेको जनाएको छ ।

जिल्ला समन्वय समिति, सोलुखुम्बुको प्राङ्गण सल्लेरीमा आयोजना भइरहेको प्रतियोगीतामा चारैतिर बत्ति बालेर राती समेत खेल खेलाउन सुरु गरेको हो । दर्शकहरुको भिडले भरिएको प्राङगण वरिपरि ३ सय वाटका हेलोजिन लाइट बालिएका छन् । रातको समय सोलुखुम्बुको चिसोलाई बेवास्ता गर्दै दर्शकहरुले खेल हेरेर मनोरञ्जन लिइरहेको क्लबका अध्यक्ष नाम्गेल शेर्पाले बताउँनुभयो । रातको समयमा अप्रिय घटनाहरु नघटनका लागि क्लबले आफ्नो सुरक्षा परिषद (स्वयंसेवक)लाई परिचालन गरेर दर्शकहरुको व्यवस्थापन गरेको र सुरक्षाकर्मीहरुको समेत सहयोग लिइरहेको शेर्पाको भनाई छ ।

लिकमआउट नियमअन्तर्गत खेलाइएको प्रतियोगीतामा जम्म ३६ सेट खेल खेलाउनुपर्ने छ । जसमध्ये प्रतियोगीताको तेस्रो दिनसम्म २० सेट खेलाइसकिएको र राती ९ बजेसम्ममा थप दुई सेट खेल खेलाइसकिने अन्तर्राष्ट्रिय रेफ्रि विकास गुरुङले जनाकारी दिनुभयो । प्रतियोगीतामा महिलातर्फ झापा, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु गरि ४ जिल्लाका ७ टिमको सहभागीता रहेको छ भने पुषतर्फ १३ टिमको सहभागीता रहेको छ । प्रतियोगीतामा आज मात्रै १२ सेट खेल खेलाइसकिएको छ ।

खेल रातको ९ बजेसम्म संचालन हुने आयोजक समितिले जनाएको छ । खेलपश्चात स्गथानीय कलाकार र ब्याण्डहरुको साथमा सांगीतिक साँझको आयोजना हुनेछ भने भोली ८ गते राती गायक प्रताप दास, गायिका अस्मिता अधिकारी, हास्य कलाकारहरु शेरबहादुर गुरुङ र कैलाश कार्कीलगायतका कलाकारहरुको साथमा सांतीतिक साँझको आयोजना गरिने क्लबले जनाएको छ ।

प्रकाशित मिति : मंगलवार, ७ मंसिर २०७८ १८:२४

Archives

प्रतिक्रिया दिनुहोस्