Logo

माओवादी केन्द्रको प्रदेश सहसचिवमा सोलुखुम्बुका पराजुलीको दाबी, को हुन् पराजुली ?


सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नम्बर १ को सहसचिव पदमा सोलुखुम्बुका नेता ठमनाथ पराजुली (ध्रुब)ले दाबी गरेका छन् । पार्टीको अघिल्लो हप्ता सम्पन्न प्रदेश सम्मेलनबाट निर्वाचित २५९ सदस्यीय प्रदेश समिति गठन गर्दा पराजुली पनि निर्वाचित भएका हुन् ।

प्रदेश पदाधिकारी छनोट गर्न नसकेपनि आउँदो ७ गते बस्ने बैठकले पदाधिकारी तोक्ने सम्भावना रहेको जनाइएको छ ।

को हुन् पराजुली ?
२०४२ साल भदौमा जन्मिएका पराजुली विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्दै पार्टीको नेतृत्वमा स्थापित भएका हुन् । २०५७ सालमा अनेरास्ववीयूमा माद्यमिक विद्यालय ईकाई सचिव हुँदै २०५९ सालबाट तत्कालिन नेकपा (माओवादी केन्द्र)मा पूर्णकालिन भएर राजनीति यात्रा अघि बढाएका उनी २०६०/०६१ सालमा विशेष जिल्ला सदस्य हुँदै अखिल (क्रान्तिकारी) सोलुखुम्बु जिल्लाको अध्यक्ष, २०६३ सालको भदौंबाट पार्टीको सोलुखुम्बु जिल्ला कार्यालय सचिव भए ।

पछि अखिल (क्रान्तिकारी)को केन्द्रीय समिति र नेकपा (माओवादी)को तत्कालिन संगठन संरचनाअनुसार २०६४÷०६५ मा किरात राज्य समिति सदस्यको जिम्मेवारी सम्हालेका पराजुली संविधान सभाको पहिलो निर्वाचनपछि २०६५ सालमा बनेको सरकारका संस्कृति मन्त्री गोपाल किरातीको सहायक स्वकीयू सचिवको समेत भूमिका निर्वाह गरे । २०६७/०६८ सालमा मोहन बैद्य (किरण) नेतृत्वमा गठित नेकपा (माओवादी क्रान्तिकारी)मा सामेल भएका उनी सो पार्टीको विद्यार्थी संगठन किरात राज्यको संयोजक हुँदै सोलुखुम्बु जिल्ला सेक्रेटरी भएर जिल्लाको प्रमुख नेतृत्वको भूमिकामा काम गरेका थिए ।

२०७१ सालमा देशमा छरिएर रहेका बामपन्थी घटकहरुको एकता हुँदा तत्कालिन नेता रामबहादुर थापा (बादल)सँगै उनी प्रचण्ड नेतृत्वको पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मा सामेल भएपछि उनले २०७२ सालमा केन्द्रीय महाधिवेशन समिति सदस्य हुँदै पार्टीको सोलुखुम्बु जिल्ला सहसंयोजकको जिम्मेवारी सम्हाले ।

२०७४ को निर्वाचनपछि माओवादी केन्द्र र एमाले एकताबाट बनेको नेकपाको १ नम्बर प्रदेश कमिटी सदस्य तथा प्रदेश पर्यटन विभागको उपप्रमुखको जिम्मेवारीमा रहेर काम गरेका थिए उनले । एकता भंग भएपछि केही समय माओवादी केन्द्र सोलुखुम्बुको उपाध्यक्षसमेत भएका पराजुली २०७८ मंसिर २५ देखि २७ गते विराटनगरमा सम्पन्न पार्टीको प्रदेश सम्मेलनबाट प्रदेश सदस्यमा निर्वाचन भएका हुन् ।

पार्टी संगठनभित्र उनले आफुलाई बैचारिक नेतृत्व र स्पष्ट वक्ताका रुपमा आफ्नो परिचय बनाएका छन् ।

प्रकाशित मिति : शुक्रबार, २ पुष २०७८ १६:५१

Archives

प्रतिक्रिया दिनुहोस्