Logo

माओवादी जिल्ला अध्यक्ष बनेको भोलिपल्ट राईले पाए नेपाल सरकारको महत्वपूर्ण जिम्मेवारी


काठमाडौं । थुलुङ दुधकोशी गाउँपालिकाका जननिर्वाचित अध्यक्ष असिम राईले माओवादी केन्द्रको सोलुखुम्बु जिल्ला अध्यक्ष बनेको भोलीपल्टै अर्थ मन्त्रालय अन्तर्गतको एउटा महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको छ । मंगलबारको मन्त्रीपरिषद्स्तरीय निर्णयबमोजिम उहाँले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध)ऐन २०७७ को दफा २२ (१) बमोजिम गठित बिषयगत समिति सदस्यको जिम्मेवारी पाउनुभएको हो ।

अर्थमन्त्रीको अध्यक्षतामा गठित उक्त समितिमा सबै प्रदेशका आर्थिक मामिला मन्त्री र स्थानीय तहको एक जना प्रमुख वा अध्यक्ष समितिको सदस्य रहने व्यवस्था छ । सोही व्यवस्थाअनुरुप सिंगो स्थानीय तहहरुको प्रतिनिधित्व गर्दै राई सो पदमा मनोनित हुनुभएको हो । समितिको सचिवालय नेपाल सरकारको अर्थ मन्त्रालयमा रहनेछ ।

समितिले आफ्नो विषयसँग सम्बन्धित क्षेत्रका योजना, नीति तथा कानुनको तर्जुमा गर्दा प्रदेश तथा स्थानीय तहसँग परामर्श गर्ने र क्षेत्रगत योजना, नीति तथा कार्यक्रममा एकरुपता, निरन्तरता एवं गुणस्तरीयता कायम गर्न तथा कानुन, योजना, नीति तथा रणनीतिहरुको कार्यान्वयनमा प्रभावकारिता ल्याउन आवश्यक समन्वय गर्ने काम गर्दछ ।

त्यस्तै आफ्नो विषयसँग सम्बन्धित क्षेत्रका राष्ट्रिय नीति तर्जुमाको लागि प्रधानमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय समन्वय परिषद्लाई सुझाव दिने तथा परिषद्को निर्णय एवं निर्देशन कार्यान्वयन गर्ने गराउनेलगायतको काम पनि समितिको काम, कर्तव्य र अधिकार क्षेत्रभित्र पर्दछ ।

प्रकाशित मिति : बुधबार, १२ माघ २०७८ १९:२७

Archives

प्रतिक्रिया दिनुहोस्