Logo

नेपालको नयाँ पर्यटकीय प्रडक्ट हुनसक्छः गोठस्टे !


नुरु शेर्पा

सामान्यतः होमस्टे शब्द सबैलाई थाहा छ । तर, गोठस्टे शब्द सबैका लागि नौलो हुनसक्छ । गोठस्टे गोठ र स्टे मिलेर भनेको शब्द हो । जहाँ गोठ भन्नाले गाईबस्तु पाल्नका लागि स्याउला, चित्र वा फलेकको छानो छाएर बनाइएको घर स्टेको अर्थ बस्नु भन्ने हुन्छ । एकमुष्टमा पशुपालकहरु बस्ने गोठमा बास बस्नु नै गोठस्टे अर्थात् गोठबास भनिन्छ । यसलाई फार्मस्टे पनि भन्ने गरिन्छ ।

नेपालमा याक चौरी गोठस्टेको सम्भावना
नेपालको पर्वतीय क्षेत्रमा पर्यटकिय स्थल हुने र याक चौरी पालन पनि यस क्षेत्रमा मात्र सम्भव हुने हुँदा याक तथा चौरी कृषकहरूले सञ्चालन गर्न सकिन्छ । हजारौं पर्यटकीय सम्भावना बोकेको मनोरम प्राकृतिक स्थलहरु खाने बस्ने व्यवस्था नहुँदा अझै प्रवर्द्धन हुन सकेको छैन । अर्कोतिर याक तथा चौरीपालक कृषकहरु अपेक्षित आम्दानी गर्न नसक्दा व्यवसाय छोड्न थालेका छन् । यस परिपेक्षमा याक चौरी गोठस्टेको सञ्चालनमार्फत पर्यटन प्रवर्द्धनसँगै कृषकले याक चौरीको अतिरिक्त आम्दानी गरी आय वृद्वि गर्न सघाउ पुर्याउने भएकाले यो गोठस्टेको अवधारणा बनाइएको छ ।

क) गोठस्टे कस्तो बनाउने ?
१) चौरी र याक गोठहरूलाई फराकिलो बनाउने ।
२) सकेसम्म जस्ताको छानोको सट्टा स्थानीय फलेक र चित्रको छाना लगाउने ।
३) खानेपानीको सहज व्यवस्था गर्ने ।
४) पर्यटकको लागि शौचालयको व्यवस्था गर्ने र सकेसम्म स्नानस्थलको व्यवस्था पनि गर्ने ।
५) ओड्ने, ओछ्याउनेको राम्रो व्यवस्था गर्ने ।
६) सकेसम्म छुट्टै सुत्न मिल्ने गरी कोठाहरू व्यवस्था गर्ने ।
७) उच्च क्षमताको सौर्य उर्जाको व्यवस्था गर्ने ।
८) दाउरासँगै वैकल्पिक इन्धनको व्यवस्था गर्ने ।

ख) चौरी गोठस्टे किन ?
१) नेपालको हिमाली क्षेत्रको हजारौं गुमनाम पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्न ।
२) गोठस्टे नेपालको पर्यटन उद्योगमा नौलो प्रडक्टको रुपमा स्थापित गर्न ।
३) नेपालको उच्च पर्वतीय क्षेत्रमा गोठ संस्कृति हराउँदै गएकाले हाम्रो इतिहास र संस्कृति जोगाई राख्न ।
४) लोपोन्मुख याक तथा चौरीपालक कृषकको अतिरिक्त आम्दानी वृद्धि गरी प्रोत्साहन गर्न ।
५) गोठस्टे आफैंमा एउटा आकर्षक प्रडक्ट हो भने याक र चौरी पनि आफैमा पर्यटकलाई आकर्षण गर्न ।
५) उच्च पर्वतीय क्षेत्रमा पर्यटकिय गतिविधि सञ्चालनको लागि आधार तयार गर्न ।
६) नयाँ पर्यटकिय पदमार्गमा मौसम प्रतिकुल हुँदा, खाने बस्ने व्यवस्था नहुँदा, बाटोमा सूचनाहरू नहुँदा,पानीको मुहान थाहा नहुँदा अलपत्र पर्ने सम्भावना भएकोले उक्त आपातकालीन सेवाहरु प्रदान गर्न ।

ग) बसोबास र गतिविधिहरु:
१) राति क्याम्प फायर गर्न सकिने ।
२) स्थानीय अर्गानिक खाना खाने ।
३) हिमाली क्षेत्रमा पाइने जिम्बु, च्याउ, चुत्रो, सिस्नु टिप्ने खाने ।
४) याक र चौरीको दूध, महि, घिऊ, छुर्पी चाख्ने साथै चौरी गोठको दैनिकी अनुभव लिन सकिने । (चौरी दुहुने, मोहि पार्ने, सेर्काम पकाउने, नुन खुवाउने, चौरी याक चरणमा खेद्ने आदि)
५) चौरी याक सम्बन्धी वृत्तचित्र निर्माण तथा त्यससम्बन्धि अध्ययन अनुसन्धान गर्ने ।
६) साहसिक पर्यटन सँग सम्बन्धित याक राइडिङ गर्ने, नाचगान गर्ने, मुजिक भिडियो, टिकटक बनाउने, सामाजिक सञ्जालमार्फत पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रवर्द्धनात्मक गतिविधि गर्ने ।
७) गोठस्टे सञ्चालनमा आएका क्षेत्रहरूमा वन्यजन्तु संरक्षण, डढेलो रोकथाम, जलवायु परिवर्तन सम्बन्धी जनचेतनामुलक सामग्रीहरू बनाई स्थानीयलाई सुसूचित गर्न सकिने ।

घ) समस्या र चुनौतीहरू:
१) गोठष्टे बनाउन उच्च लागत लाग्ने, निर्माण सामाग्री दुवानी गर्न कठिनाइ फलेक र चित्रका छानाहरुमा आगजनी हुने, हावाले उडाउने, चुन्ने आदि ।
२) सञ्चार सुविधाको पहुँच नहुदा समस्या हुने ।
३) पर्यटकीय सम्भावना भएका क्षेत्रहरुमा गोठ मौसमी हुन्छन् । बर्खा याममा मात्र माथि आउने हुँदा वर्षैभरी कसरी सञ्चालन गर्ने ?

ङ) गोठस्टे प्रवर्द्धन र सञ्चालन कसरी गर्ने ?
१) स्थानीय तहले विशेष आफ्नो क्षेत्रको पर्यटकिय सम्भावना बोकेको क्षेत्रमा पाल्दै आएको याक तथा चौरी कृषकहरुलाई गोठ निर्माणमा जस्तापाता, खानेपानी तथा सोलार आदि सहयोग गर्नु पर्दछ ।
२) स्थानीय सरकारले त्यस क्षेत्रको प्रवर्द्धनको लागि प्रचार सामग्री बनाउने, वर्षमा एकचोटि जनप्रतिनिधि र कर्मचारीहरु स्थानीय तहभित्रका सबै विद्यालयहरू र संघ संस्थाहरुलाई भ्रमणको लागि विशेष अनुरोध गर्ने ।
३) स्थानीय सरकारले स्थानीय सामाजिक संघ संस्थाको सहकार्यमा गोठबासको प्रवर्द्धन गर्ने हेतुले याक चौरी महोत्सव आयोजना गर्ने, विभिन्न खेलकुदहरू आयोजना गर्ने, कार्यपालिका बैठक बस्ने जस्ता कृषकको मनोबल बढाउने खाले गतिविधि गर्नुपर्छ।
४) स्थानीय सरकारले संघ संस्थाहरुको सहकार्यमा विश्वको पर्यटकलाई आकर्षित गर्न सक्ने गरी Itenrary बनाउने प्रवर्द्धन गर्ने गतिविधि गर्नुपर्छ ।
५) गोठबासलाई बाह्रै महिना खुलाउने गरी सकेसम्म स्थानीय सरकारले एकजना कर्मचारी व्यवस्थापनको लागि तलब सुविधा उपलब्ध गराई गोठबासलाई जीवन्त राख्न भूमिका खेल्नुपर्ने ।

(लेखक शेर्पा याक तथा चौरी कृषक महासंघ, नेपालका अध्यक्ष हुनुहुन्छ ।)

प्रकाशित मिति : सोमबार, २३ श्रावण २०७९ १०:४५

Archives

प्रतिक्रिया दिनुहोस्