Logo

महाकुलुङ राष्ट्रिय निकुञ्ज घोषणा गरौं


निनाम लोवात्ती

हो, निकट भविष्यमै ‘मेरा पिक राष्ट्रिय निकुञ्ज’ घोषणा हुँदैछ । तर, मेरो विचारमा यो निकुञ्जको नाम ‘मेरा पिक राष्ट्रिय निकुञ्ज’ होइन, ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’ नाम राखेर घोषणा गर्नुपर्ने देखिन्छ । नयाँ घोषणा हुने १३ औं यो निकुञ्ज सोलुखुम्बु जिल्लाको ‘महाकुलुङ गाउँ पालिकाको अधिकांश क्षेत्रलाई समेट्ने छ । यसरी ‘महाकुलुङ क्षेत्र’लाई अलग्गै समेटेर अलग्गै राष्ट्रिय निकुञ्ज बन्नेवाला छ । हुन पनि पहिले ‘मकालु बरुण राष्ट्रिय निकुञ्ज’मा रहँदा स्थानीय महाकुलुङवासीका लागि केही परिआएमा कार्यलय जान धेरै टाढा र अपायक परेको हुनाले ‘महाकुलुङ क्षेत्र’लाई अलग्गै निकुञ्ज बनाउन वा भनौं छुट्याउन लागिएको हो ।

त्यसैले स्थानीय महाकुलुङवासीले ‘मेरा पिक राष्ट्रिय निकुञ्ज’का नाममा स्थापना हुने गरी नेपाल सरकारसमक्ष प्रतिवेदन पेश भएको भन्ने सुन्नमा आउने बित्तिकै सो निकुञ्जको नाम ‘मेरा पिक राष्ट्रिय निकुञ्ज’ जुन छ, त्यो नाम भन्दा पनि ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’ वा ‘मेरापिक महाकुलुङ राष्ट्रिय निकुञ्ज’ अथवा ‘महाकुलुङ मेरापिक राष्ट्रिय निकुञ्ज’ नाम हुनु पर्छ भनी जोडदार माग गर्नुपर्ने देखिन्छ, गरिरहेका पनि छन् । हुन पनि अझसम्म केही बिग्रेको छैन्।

विश्वका कुनै पनि जातजातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । अझ आदिवासी हुनका लागि त पहिलो सर्त नै उनीहरुका पिता पूर्खाहरुले परपरम्पादेखि बसी आएको, चर्ची आएको ऐतिहासिक भूमि हुनुपर्ने हुन्छ। जुन कुरो स्थानीय महाकुलुङवासीहरुमा छ। त्यसको प्रमाण भनेको स्थानीय महाकुलुङवासीका जनता स्वयम् नै हुन् ।

यसरी आदि अनादि कालदेखि आफ्ना पिता पूर्खाहरुले चर्चेको उत्पत्ति थलो अर्थात ऐतिहासिक भूमि, वंश-परम्परा, आदि अनादि कालदेखि पूर्खाहरुले खाईखेली आएको खोलानाला, वनजंगल, अरुको भन्दा फरक र छुट्टै मातृभाषा, चाडपर्व, रहनसहन, संस्कार, संस्कृति, भेषभुषा, धर्म, जीवनचक्र, परम्परागत कानुन, हामी कुलुङ हौं भन्ने भावना, आफैभित्र (कुलुङ-कुलुङबीचमै) विवाह गर्ने प्रचलन आदि भएको कुलुङ जातिका बारेमा छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ ।

विसं २०४६ को राजनैतिक परिवर्तनसँगै आएको खुल्लापन, सूचना, सञ्चार र प्रविधिको विकाससँगै बाहिरी दुनियाँमा ‘राई !’ भनी चिनिन थालेका समुदाय पनि हुन् ‘-कुलुङ ।’ जो विसं २०४६ को परिवर्तन अघिसम्म कुलुङहरु धेरै कम मात्रै (महाकुलुङ) बाहिरी दुनियाँमा चिनिन्थे ।

त्यसैले यहाँ नेपालका प्राचीन जातिहरुमा पर्ने किरात महाजाति भित्रका एक जाति ती कुलुङ जातिका बारेमा छोटो चर्चा गर्ने प्रयास गर्दै उनीहरुको उद्गथलो ‘महाकुलुङ’ भूमिलाई “महाकुलुङ सम्पदा पदयात्रा मार्ग (‘महाकुलुङ हेरिटेज ट्रेल’)” को रुपमा पर्यटकीय हिसावले विकास गर्न किन ढीला गर्ने ? भनी यहाँ एक चर्चा परिचर्चा गरिएको छ । किनभने रसुवामा “तामाङ सम्पदा पदमार्ग/तामाङ हेरिटेज ट्रेल” निर्माण गरिएको छ । जुन सफल पनि भएको छ ।
जे होस्, पूरानो भगौलिक विभाजन अनुसार सगरमाथा अञ्चल (हाल १ नम्बर प्रदेश)को सोलुखुम्बु जिल्लाको उत्तर-पूर्वी क्षेत्रको छेस्खाम, बुङ, गुदेल सत्तो (सोताङ), पावै आदि गाविसहरुलाई ‘महाकुलुङ भूमि’ भनी चिनिन्छ । हाल किरात संवत् (यले दोङ ५०७९) चल्दैछ भने कुलुङ समुदायको

जीवनचक्रअनुसार गएको पुस १५ गतेदेखि यले दोङ ५०७९ सुरु भयो भने,कल जीवन चक्रअनुसार पहिलो महिनाको नाम चाक्चाकूर हो । जस्तो कि विक्रम संवत्को पहिलो महिनाको नाम वैशाख भने झैं कुलुङ जीवनचक्र अनुसार यले दोङको पहिलो महिना हो ‘-चाक्चाकूर ।’

केहि वर्ष अघिदेखि ‘महाकुलुङ’ क्षेत्र (गापा) को गुदेलमा आन्तरिक विमानस्थल बनाउका लागि पहल भैरहको छ । फलतः गत वर्ष त्यसका लागि सर्भेको काम र स्थानीयवासीहरुका लागि पूर्व सुसूचित हुने अधिकारका लागि (सूचना निकाल्ने काम) समेत भएको छ । त्यसो त धेरै लामो समयसम्म सडक सञ्जालले नछोएको महाकुलुङ क्षेत्रलाई हाल कच्ची सडकले पनि छोएको छ ।

निनाम लोवात्ती

जे होस्, कुलुङ जातिभित्रै विभिन्न भाषिका छन् । त्यस्तै ऐतिहासिक र परम्परागत भूमि छ भन्ने त माथि नै वणर्न गरिसकियो । त्यसबाहेक जसरी अरु समुदायमा आफ्नै जातिभित्र विवाहवारी गर्नका लागि थर र उपथरहरु रहेको हुन्छ । कुलुङहरु आफ्नै कुलुङ जातिभित्र विवाहवारी गर्ने गर्छन् । बाहिरियाहरुले स्थानीय कुलुङ बूढापाकासँग कुराकानी हुँदा उनीहरुलाई दोभाषे चाहिन्छ । अर्थात् गैर आदिवासीहरुसँग कुलुङ बूढापाकाहरु खस (नेपाली) भाषामा दोहोरो सम्वाद गर्न सक्दैनन् । महाकुलुङ क्षेत्रमा भाषा, संस्कार, रीतिरिवाज, भेषभुषा, रहनसहन, कला, संस्कृति आदि जीवित रहे तापनि आधुनिक विकासले भने अपेक्षित गति लिन सकेन् ।

महाकुलुङ क्षेत्र किन एकल जातीय बस्ती भयो ? समाजशास्त्रीय भाषामा “इन्डोग्यामस” पनि भनिने कुलुङ जातिको मात्रै एकल जातीय बसोवास कसरी संभव भयो, महाकुलुङ क्षेत्रमा?, नेपालको सन्दर्भमा नृवंशशास्त्री, जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री, संस्कृतिविद लगायत अन्य खोज अनुसन्धानकर्ताहरुका लागि खोज अनुसन्धान गर्नका लागि एक रोचक विषय हुन सक्छ ।

त्यसो त मानव सभ्यता ढुंगे युग हुँदै शिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युग चली रहेको छ । हुन त हाल सुपर सोनिक हुँदै हाइपर सोनिकमा युगमा पुगेको मान्नेहरु पनि कम छैनन् । निश्चय नै विज्ञान प्रविधिले फड्को मारेकै हो ।

तर, सुन्ने मान्छेहरुलाई (खासगरी छुत-अछूत मान्ने समाजमा हुर्के/बढेकाहरुलाई) अचम्म लाग्ने विषय के हो भने, केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरु आफैले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी माल सामानहरु बनाउने गर्थे । जस्तै शिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषिका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरु पनि कुलुङ समुदायभित्रकै विभिन्न थरका कुलुङहरुले नै बनाउँथे । जस्तै गोक्तुलु, मोरोखु, वारोखु थरका कुलुङहरुले नै त्यस्ता सामग्रीहरु बनाउँथे । तर, कुलुङ जातिमा कामकै आधारमा छुवाछूत गर्ने प्रचलन भने थिएन ।

हुन पनि यस पंक्तिकासँगको भेटमा पहिले महाकुलुङ गुदेल गाविसको चाचालुङ बसेका र, हाल बुङमा बसाई सरेर आएका रामकाजी सेन्च्युरी (बिक) आफैले तत्कालीन गुदेल गाविसको चाचालुङ गाउँमा एक मोरोखु थर (थरलाई कुलुङहरु पाछा भन्छन्) का मान्छेले बटुका बनाएको देखेको र फलाम, तामा आदि कुट्दा पाता अढ्याउने (कुलुङ भाषामा लिङ/लिङ्खो/लिक्खो) देखेको बताउँछन् ।

यहाँ एक ज्वलन्त उदाहरण दिन सकिन्छ । जस्तो कि, रसुवा जिल्लाको ब्रिदिम, थोङमेन, तातोपानी आदि क्षेत्रलाई समेटेर तामाङ हेरिटेज ट्रेल बनाईएको थियो विगतमा । त्यसैले हुँगा उपत्यकामा रहेका छेस्खाम, बुङ, गुदेल, सत्तो (सोताङ), पावै आदि गाउँहरुलाई समेटेर ‘महाकुलुङ हेरिटेज ट्रेल’ बनाउनुपर्ने देखिन्छ । तर, त्यसभन्दा पहिले ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’कै लागि हामीले सक्दो पहल गर्नुपर्ने देखिन्छ । यसका लागि हामी कुलुङहरु जुनसुकै राजनीतिक दलमा लागेको भए तापनि हाम्रो आस्था जुनसुकै राजनीतिक दलमा रहेको भए तापनि हामी सबैले एक स्वरले ‘महाकुलुङ हेरिटेज ट्रेल’ पनि बनाउनै पर्ने देखिन्छ ।

निकुञ्जको हकमा भने, सबै काम सकिएर स्वीकृत हुने क्रममा रहेको छ । तापनि दुःखको कुरो के छ भने, कुलुङ समुदायमा राजनीतिक पहुँच नभएको हुनाले अझै पनि राजनीतिक दवावमा तलमाथि हुन सक्ने संवाभनालाई भने नकार्न सकिँदैन । त्यसैले स्थानीयस्तरका कुलुङ समुदायका अगुवाहरु जो विभिन्न राजनीतिक दलमा लागेका छन्, उहाँहरुले आफ्नो दल र नेताको स्वार्थ नहेरी एकट्ठा भएर लाग्नुपर्ने देखिन्छ । त्यसपछि कुलुङ समुदायका बुद्धीजीवीहरु, कुलुङ समुदायका सामाजिक अभियन्ताहरु, अगुवाहरु, विद्यार्थीहरु युवाहरु लागि पर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : शुक्रबार, ३ भाद्र २०७९ १२:२५

Archives

प्रतिक्रिया दिनुहोस्