Logo

राष्ट्रिय भूमी आयोगले गर्‍यो सोलु दुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकासँग सम्झौता


सोलुखुम्बु – राष्ट्रिय भूमी आयोग जिल्ला समिति सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकासँग सम्झौता गरेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गर्ने लक्ष्यका साथ आयोगका केन्द्रीय सदस्य गोर्वद्धन कोलीको विशेष उपस्थितीमा शुक्रबार जिल्ला अध्यक्ष उत्रमान राई, सोलुदुधकुण्डको तर्फबाट उपमेयर गान्धी माया तामाङ र नेचासल्यानको तर्फबाट उपाध्यक्ष बिना राई बीच सम्झौता पत्र आदन प्रदान गरिएको हो ।

सम्झौता–पत्रमा स्थानीय तहले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान, लगत संकलन, प्रमाणीकरण, अव्यवस्थित बसोबासको विवरण तथा अनुमानित घर संख्याको लगत तयार गरी आयोग समक्ष पेश गर्ने लगायतका २३ वटा बुदा उल्लेख छ ।

आयोगले एक हप्ता भित्र जिल्लाका अन्य स्थानीय तहहरुसँग पनि सम्झौता गर्ने जनाएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले जिल्लाका वास्तविक भूमिहीनहरुलाई जग्गा धनी बनाउन आयोगले काम गर्ने र त्यसका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय सदस्य गोर्वद्धन कोलीले भूमि आयोगसँग सम्झौता गर्न छुटेमा भूमिहीनहरु लगत संकलनमा पनि छुट्ने भएकाले जतिसक्दो छिटो सम्झौता गर्न स्थानीय तहहरुलाई आग्रह गरे ।

त्यस्तै आयोगका जिल्ला अध्यक्ष उत्रमान राईले यस पटक गठन भएको आयोगले जिल्लाका भूमिहीनहरुलाई जग्गा धनीपुर्जा उपलब्ध गराएरै छोड्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : शनिबार, ४ भाद्र २०७९ २०:१२

Archives

प्रतिक्रिया दिनुहोस्