मंसिर ४ को निर्वाचन अन्तिम मत परिणाम: जम्मा कसको कति सिट ?
काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेपाली कांग्रेस पहिलो दल बनेको छ । तर, बहुमत भने कुनै दलले पनि ल्याउन सकेन ।
बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरेसँगै मत परिणामको अन्तिम टुंगो लागेको हो ।
अन्तिम नतिजा अनुसार प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । अब कांग्रेससँग जम्मा ८९ सिट भएको छ ।
०७४ को चुनावमा पहिलो दल बनेको नेकपा (एमाले)ले दोस्रोमा झरेको छ । उसले पत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरेर ७८ सिट जितेको छ ।
तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी जम्मा ३२ सिट जितेको छ ।

यसै चुनावबाट उदाएको रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट गरी जम्मा २० सिट जितेर चौँथो ठूलो शक्ति बनेको छ ।
यस चुनावबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि बलियो बनेको छ । राप्रपाले प्रत्यक्षमा सात र समानुपातिकमा पनि सात गरी १४ सिट जितेर पाँचौँ शक्ति बनेको छ ।
प्रत्यक्षमा पाँच र समानुपातिकमा सात गरी १२ सिटसहित जनता समाजवादी (जसपा) छैटौँ ठूलो दल बनेको छ ।
प्रत्यक्षमा एक र समानुपातिकमा पाँच सिट जितेर सीके राउत नेतृत्वको जनमत पार्टी पनि राष्ट्रिय दल बनेको छ ।
यी सात दलबाहेक अरूले समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाउन नसकेकाले राष्ट्रिय दल बन्न सकेनन् ।
एमालेबाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा १० सिट जितेको छ । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चार सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेको छ ।
नेमकिपा र राष्ट्रिय जनमोर्चाले समान १–१ सिट जितेका छन् ।
यस चुनावबाट पाँचजना स्वतन्त्र सांसद् पनि विजयी भएका छन् ।