नयाँ वर्ष २०८० को अवसरमा ठमेलमा ‘न्यू इएर इभ’ आयोजना गरिदैँ
काठमाडौं l नयाँ वर्ष २०८० को अवसरमा पर्यटकीय नगरी ठमेलमा ‘न्यू इएर इभ सडक महोत्सव’ आयोजना हुने भएको छ। यही चैत्र ३० गते बिहीबार त्रिदेवी मार्गस्थित सञ्चयकोष अगाडि नेपाली वर्ष २०८० को पूर्व सन्ध्यामा नयाँ वर्षलाई स्वागत गर्नका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ।
महोत्सवमा प्रमुख अतिथिका रूपमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको उपस्थिति रहने परिषदले जनाएकाे छ । महोत्सवमा नेपाली मौलिक कला झल्किने विविध कार्यक्रम गरिने छ।
विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरी २०७९ लाई बिदा गरिने आयोजकले जनाएका छन्। वि.स २०८० लाई स्वागत गरी १२:३० मा महोत्सव समापन हुने परिषद्ले जनाएको छ।
त्यस्तै महोत्सवमा ठमेलका विभिन्न व्यवसायीहरूले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गरिनुका साथै ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रूपमा परिचित गराउने अभियान रहेको परिषदले जनाएको छ।
महोत्सवमा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिका साथै पर्यटन सम्बद्ध सङ्घ संस्थाका पदाधिकारीहरूकाे उपस्थिति रहने छ। कोभिड-१९ को महामारीले थलिएको ठमेलको पर्यटन क्षेत्रलाई चलायमान गराउन लागेको परिषदका अध्यक्ष भवीश्वर शर्माले बताउनुभयो । उहाँले ठमेलभित्रका व्यवसायी, घरधनी र विभिन्न निकायको समन्वयनमा परिषद्ले ठमेलमा पर्यटन प्रवर्द्धनमा लागिरहेको बताउनुभएको छ।
साथै वसन्त ऋतुको आगमनसँगै ठमेल क्षेत्रमा पर्यटक आउने सङ्ख्यामा समेत वृद्धि भएको र पर्यटकको वृद्धिसँगै ठमेलका व्यवसायीमा नयाँ आशा पलाएको उहाँको भानाई छ।नयाँ वर्षकाे अवसरमा आयोजना गरेको साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमले ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास परिषद्ले लिएको छ।
महोत्सवमा १ लाख आगन्तुकको उपस्थिति हुने अनुमान गरिएको र नयाँ वर्षका लागि ठमेलका अधिकांश होटल बुक भइसकेको अध्यक्ष शर्माको भनाई छ।