Logo

राष्ट्रपति पौडेलद्वारा आङछिरिङ शेर्पालाई ‘अचिभमेन्ट अवार्ड २०८०’ प्रदान


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको पीपी प्रसाईं लाइफटाइम ‘अचिभमेन्ट अवार्ड २०८०’ वरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार पीपी प्रसाईं फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले सो अवार्ड प्रदान गर्नुभएको हो ।

को हुन् आङछिरिङ ?

सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुको हिमाली गाउँ खुम्जुङमा जन्मनुभएका आङछिरिङ शेर्पा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । साढे ४ दशकभन्दा बढि समय पर्यटन क्षेत्रमा खर्चिसक्नुभएका शर्पालाई सालिन, निडर र निस्वार्थ भावले युक्त व्यक्तित्वको रुपमा लिन सकिन्छ । एसियन ट्रेकिङका अध्यक्षसमेत रहनुभएका शेर्पालाई पर्वतीय पर्यटनको ज्ञाताको रुपमा पनि चिन्न सकिन्छ । नेपालको अधिकांश पर्वतीय पर्यटन क्षेत्रको गतिविधिको तिथीमिति र हिमालहरुको अवस्थाबारे उहाँ जानकार हुनुहुन्छ, जुन अरु कसैसँग छैन ।
विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्यसमेत रहनुभएका आङछिरिङ शेर्पा विश्वकै पर्वतीय पर्यटन क्षेत्रमा  विख्यात व्यक्ति मानिनुहुन्छ । विश्व पर्वतारोहण महासंघमा प्रतिनिधित्व गर्ने शेर्पा सिंगो एसियाबाट दोस्रो हुनुहुन्छ भने नेपालबाट पहिलो ।
नेपालको सिंगो पर्वतीय पर्यटनको प्रवर्द्धन र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु प्राप्त गर्नुभएको छ । उहाँले सगरमाथाको शिखर नचुमेपनि हालसम्म संयौ स्वदेशी तथा विदेशी आरोहीहरुलाई सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमालहरुको सफल आरोहण गराइसक्नुभएको छ ।  विभिन्न क्षेत्रमा योगदान पुर्‍याएवापत यसअघि उहाँले दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानसमेत प्राप्त गरिसक्नुभएको छ ।

सोहि अवसरमा राष्ट्रपति पौडेलले फाउन्डेशनले सामुदायिक विद्यालयतर्फ दिँदै आएको उत्कृष्ट शिक्षक पुरस्कार पनि प्रदान गर्नुभयो । जसअन्तर्गत कोशी प्रदेशबाट फिक्कलका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट कमला राई काठमाडौँ, गण्डकी प्रदेशबाट टुकादेवी आचार्य कास्की, लुम्बिनी प्रदेशबाट गोपालप्रसाद बस्याल पाल्पा, कर्णाली प्रदेशबाट जयबहादुर बस्नेत डोल्पा र सुदूरपश्चिम प्रदेशबाट जीतबहादुर चौधरी हुनुहुन्छ ।

उत्कृष्ट शिक्षक पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ भने विद्यालयलाई दश हजार बराबरको शैक्षिक सामग्री रहेको छ । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष शिखर प्रसाईं, सचिव दिलभूषण पाठक, पुरस्कृत शिक्षक कमला राई र जयबहादुर बस्नेत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : शुक्रबार, २२ भाद्र २०८० १०:००

Archives

प्रतिक्रिया दिनुहोस्