Logo

तिङ्ला आजपनि अस्तव्यस्त, सोलु आवतजावत गर्ने सवारी साधन ठप्प


सोलुखुम्बु, ५ माघ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङला आज (आईतबार)पनि अस्तव्यस्त रहेको छ । तिङलाबासीको माग पूरा नगरी राष्ट्रिय प्रसारण लाईन उद्घाटन कार्यक्रम गर्न लागेको भन्दै नरबहादुर कटुवालले नेतृत्व गरेको स्थानीयले शनिबार ढुंगामुडा गर्नुका साथै १४ वटा मोटरसाइकल र एक वटा गाडिमा आगजानी गरेका थिए ।

उनीहरुको विरोधका कारण आइतबार सोलुखुम्बुबाट काठमाडांै र जिल्ला बाहिर जाने आउने सवारी साधनहरु ठप्प रहेको नगरपालिका वडा नम्बर ११ का वडा सचिव खेम खतिवडाले जानकारी दिए । उनकाअनुसार अहिले विरोधका कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने बारे आन्दोलनकारीहरु तिङ्लाको सडक आसपासमै जम्मा भएर बैठक बसिरहेका छन् ।
हाईड्रोपावरको मुख्य प्रभावित क्षेत्र तिङला भएपनि प्रभावित क्षेत्रमा नै विद्युत विस्तार नगरी उद्धघाटन गर्न लागेको आन्दोलनकारीहरुको भनाइ रहेको खतिवडाले बताए ।

नेपाल विद्युत प्राधिकरणले सोलुखुम्बुलाई राष्ट्रिय प्रसारण लाईनमा जोड्ने कार्यक्रमको उद्घाटन गर्नका लागि प्रतिनिधि सभा सदस्य हेमकुमार राईसहितको टोली पत्ताले पुग्ने क्रममा आन्दोलनकारीहरु अन्धाधुन्दा ढुंगामुडा र आगजानीमा उत्रिएपछि सो कार्यक्रम रोकिएको थियो ।

त्यसपछि सांसद राईको टोलीले सल्लेरीमा पत्रकार सम्मेलन गरेर तिङ्लाबासीको जायज माग सम्बोधन गर्नका लागि त्यहाँ पुग्दा विकास विरोधी तत्वहरुले जनतालाई उत्तेजित पारेर घटना घटाएको आरोप लगाएका थिए ।

झपडमा दुबै पक्षका केहि ब्याक्ति घाईते भएको जिल्ला प्रसाशन कार्यलय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति : आईतवार, ५ माघ २०७६ १२:१७
प्रतिक्रिया दिनुहोस्