Logo

४ कोरियन र ३ नेपाली नागरिक अझै बेपत्ता, खोजीका लागि सम्बन्धित निकायलाई टानको अनुरोध


काठमाडौं, ५ माघ । कास्की जिल्लाको अन्नपूर्ण क्षेत्रमा पदयात्रामा गएका चार कोरियाली नागरिक र तीन जना नेपाली अझै सम्पर्कमा आएका छैनन् । गत शुक्रबार अन्नपूर्ण बेस क्याम्प देउरालीको हिंकुमा गएको हिमपहिरोमा परी वेपत्ता भएकाहरुहरुको खोजी कार्य जारी रहेको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले आइतबार जारी गरेको विज्ञप्तीअनुसार सम्पर्कमा नआएकाहरुमा कोरियाली नागरिक ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन् । त्यस्तै बेपत्ता नेपाली नागरिकहरुमा सरोज परियार, छिरिङ भोटे र मिनबहादुर लामा रहेका छन् ।

उनीहरूले यही जनवरी १५ देखि ट्रेकिङ सुरु गरेका थिए । टानकाअनुसार आइतबार टान पश्चिमाञ्चल संघ पोखरा, युनिट्राभ, अखिल नेपाल पर्यटन मजदुर संघ, अन्नपूर्ण गाउँपालिका, पर्यटक प्रहरी, सेन्चुरी क्लब तथा स्थानीयबासी सम्मिलित करिब २० जनाको टोली घटना भएको क्षेत्रमा रहेका छन् ।

टानकी महासचिव सरिता लामाद्धारा हस्ताक्षरित सोही विज्ञप्तीमार्फत हिमपहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्यलाई यथाशिघ्र पूर्णता दिनका लागि पर्यटन मन्त्रालय, कास्की जिल्ला प्रशासन, अन्नपूर्ण गाउँपालिका, नेपाल प्रहरीलगायत सम्बन्धित निकायसमक्ष अनुरोध गरिएको छ ।

टानले उद्धारमा संलग्न सबै निकाय तथा व्यक्तिहरुप्रति धन्यवाद ज्ञापन गर्दै सम्पर्क विहिन विदेशी तथा नेपाली नागरिकहरुको परिवारजनमा धैर्यधारणको लागि अनुरोधसमेत गरेको छ ।

शनिबार अन्नपूर्ण बेसक्याम्प, माछापुछ्रे्र बेसक्याम्प देउराली लगायतका क्षेत्रबाट सयौं पर्यटकको उद्धार गरिएको छ ।

प्रकाशित मिति : आईतवार, ५ माघ २०७६ १२:५०
प्रतिक्रिया दिनुहोस्