Logo

कमर्स क्याम्पसमा अध्ययनरत छात्रा क्याम्पस कोठाभित्रै बलात्कृत


काठमाडौं । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् ।

क्याम्पसमा अध्ययरत एक छात्रले बिहान कक्षा सुरू हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन् ।

पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्स क्याम्पसमा तेस्रो सेमेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ ।

माघ २९ गते बुधबार भएको यस घटनाको जानकारी प्रेसलाई प्रहरीले बुधबार मात्र गराएको हो ।

आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुर्व्यवहार गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन् ।

पीडित छात्राले आफूले चिच्याएर प्रतिकार गरे पनि कसैले नसुनेको र झ्यालहरूमा पर्दा भएकाले बाहिरका व्यक्तिले नदेखेको जानकारी गराएकी छन् ।

बलात्कारपछि पीडित छात्रा पीडा लिएर घर फर्किएकी थिइन् । बलात्कारबाट अत्यधिक रक्तश्राव भएपछि उनले आफ्ना साथीहरूलाई घटनाका बारेमा जानकारी गराएसँगै घटना क्याम्पस प्रमुखसमक्ष पुगेको थियो ।

बलात्कारपछि रक्तश्रावका कारण पीडित छात्रा तीन दिन अस्पतालमा भर्नासमेत भएकी थिइन् । साथीको साथ लिएर पीडक ढकालमाथि कारबाही गर्नुपर्ने माग गर्दै पीडित छात्रा क्याम्पस प्रमुख जीवनकुमार भट्टराईसमक्ष पुगेकी थिइन् ।

पीडित किशोरीले आफू बलात्कृत भएको मौखिक उजुरी गरेपछि प्रहरीमा जान सुझाव दिएको नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुख भट्टराईले जानकारी दिए ।

क्याम्पस प्रमुख भट्टराईले क्याम्पस परिसरभित्र यस्तो घटना हुनु दुःखद र गम्भीर भएको बताउँदै प्रहरीसमक्ष उजुरी गर्न पीडित छात्रालाई आग्रह गरेको नेपाल समाचारपत्रलाई बताए ।

लगत्तै पीडित महिलाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा पीडक ढकालका विरुद्ध किटानी जाहेरी दिएकी र प्रहरीले पनि तत्काल कारबाही सुरू गरेको थियो ।

महानगरीय पहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा रेग्मीले बलात्कारमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।

प्रहरीका अनुसार पीडक छात्राले आफूले बलात्कार गरेको स्वीकारेका छन् ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन् ।

 

mode_editप्रतिक्रिया
प्रकाशित मिति : बिहीबार, ८ फाल्गुन २०७६ ०७:५७
प्रतिक्रिया दिनुहोस्