Logo

सोलु करिडोर प्रसारणलाइनको अवरोध हटाउन अवरोधस्थलमै पुगे कुलमान घिसिङ


सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका-४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहलले सार्थकता पाउन नसकिरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत निरिक्षण गरेका छन् ।

जारी अवरोधले निर्माण ढिलाइ हुँदा सोलुखुम्बुमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् खेर जाने अवस्था आउन नदिन घिसिङ नेतृत्वको टोलिले आइतबार अवरोध हटाउन स्थलमै पुगेर पहल गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ,कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीलगायतको टोलीले अवरोधस्थलको निरीक्षण गरी प्रस्तावित प्रसारण लाइन रुटको निरीक्षण गर्दै स्थानीयसँग छलफल गरेको छ ।

स्थानीय बासिन्दाले प्रसारणलाइनको रुट सार्न माग राख्दै झण्डै दुई वर्षअघिदेखि निर्माणमा अवरोध गरिरहेका छन् । त्यस क्षेत्रमा नौ वटा टावर निर्माण गर्नुपर्ने छ ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले सम्पूर्ण प्रकृयाहरु पूरा गरी निर्माण भइरहेकेा आयोजनाको रुट सार्न नसकिने प्रष्ट पारेका छन् । प्राधिकरणले देशैभरि प्रसारण लाइन निर्माण गरिरहेको उल्लेख गर्दै घिसिङले रुट सार्न थालिएमा कुनै पनि लाइन बनाउन नसकिने बताए ।

उनले ऐलानी जग्गाको भोगचलन गरी फिल्डबुकमा नाम भएमा मूल्याङकित रकमको ७५ प्रतिशतसम्म र फिल्डबुकमा नाम नभएकाले अधिकतम ६६ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय मन्त्रिपरिषद्ले अन्य आयोजननाहरुमा यसअघि नै गरिसकेकाले यहाँ पनि उक्त सुविधा उपलब्ध गराइने बताए । प्राधिकरणले टावर रहने जग्गाको शतप्रतिशत मुआब्जा र लाइनमूनि ९/९ मिटर दायाँ र वायाँमा पर्ने जग्गाको क्षतिपूर्ति दिंदै आएको छ ।

आयोजना प्रमुख जनार्दन गौतमकाअनुसार, निर्माणमा १९ ठाउँमा भइरहेको अवरोध हटेमा यसै आर्थिक वर्षभित्रमा प्रसारणलाइनको निर्माण सम्पन्न हुनेछ ।

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत्लाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको हो ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । प्रसारणलाइनमा पर्ने ३०३ टावरमध्ये २४८को जग हालिएको र १६० खडा गरिएको छ । ३१ किलोमिटर तार तानिएको छ ।

सोलुखुम्बुको तिंलामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ । यो सँगै सिराहाको लाहानबाट तिंलासम्म ३३ केभी लाइन पुगेको छ । २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजनाको विद्युत् अस्थायी वैकल्पिक व्यवस्थाको रुपमा यही ३३ केभी लाइनबाट जोड्ने प्रयास भइरहेको छ ।

सोलु करिडोर प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) गरेको छ । त्यसमध्ये सरकारले प्रतिस्पर्धामार्फत प्रवर्द्धक छनौट गरेका ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलु खोला आयोजनाको निर्माण सम्पन्न भई प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नु पर्ने व्यवस्था पीपीएमा छ । सबै आयोजनाको विद्युत तिंला सबस्टेसनमा जोडिने छ ।

प्रकाशित मिति : सोमबार, १२ फाल्गुन २०७६ १६:१९
प्रतिक्रिया दिनुहोस्