स्टे एट स्कुलको कार्यशाला सम्पन्न, होस्टलहरुको सम्बन्ध र सहकार्यलाई मजबुद्ध बनाउने
सोलुखुम्बु : विभिन्न विद्यालयका होस्टलको भौतिक संरचना निर्माण तथा व्यवस्थापनलगायतमा काम गर्दै आइरहेको स्टे एट स्कुल नेपालले “सिक्ने र साझा गर्ने कार्यशाला” कार्यक्रम आयोजना गरेको छ । स्टे एट स्कुल नेपालद्वारा सन्चालित जुनबेसी होस्टल, भकान्जे होस्टल, लोखिम होस्टल, नेले होस्टल र बासाखाली होस्टलका प्रध्यानध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक संघका पदाधिकारीहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै स्टे एट स्कुल नेपालका कार्यकारी निर्देशक गेले राप्के भोटेले समय र आवश्यकताका आधारमा होस्टलको अवस्थामा परिवर्तन भएको बताउनुभयो । प्रत्येक होस्टलको समस्या र व्यवस्थापनमा ५ वटा होस्टलहरुको सम्बन्ध र सहकार्यलाई मजबुद्ध बनाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत प्रदिप थापाले जानकारी दिनुभयो ।
सोलुखुम्बु जिल्लामा स्टे एट स्कुल नेपालको होस्टेल परियोजनाबाट ५ सय ५१ जना विद्यार्थीहरु लाभान्वित भएका छन् । त्यस्तै स्टे एट स्कुल नेपालको तर्फबाट १ सय २६ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिदै आइएको छ । छात्रावासमा भएका राम्रा तथा नराम्रा कामको प्रअ, विव्यस अध्यक्ष शिअसका पदाधीकारीहरुले समिक्षा गरेका छन् ।
सोलुदुधकुण्ड नगरपालिका २ का वडाध्यक्ष ङवाङ ठिले शेर्पाले स्टे एट स्कुल नेपालको कामप्रति खुशी ब्यक्त गर्दै वडाले विद्यार्थीहरुको उज्वल भविष्यका लागि ३ लाख रुपयाँ सहयोग गर्ने बताउनुभयो ।