Logo

‘सरकारसँग गच्छेअनुसार मात्रै अपेक्षा गर्नुस्’


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण मुलुकको आर्थिक वृद्धिदर शून्य अवस्थामा पुगेको भन्दै गच्छे अनुसारको मात्रै अपेक्षा गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभालाई बिहीवार सम्बोधन गर्दै उनले कोरोना महामारीका कारण मुलुकको आर्थिक वृद्धिदर शून्य अवस्थामा पुगेको बताएका हुन् ।

सरकार मनको मात्रै धनी भएको बताउँदै गच्छे अनुसारको अपेक्षा गर्न उनले आग्रह गरे ।

‘यतिबेला हामी एउटा असहज परिस्थितीमा उभिएका छौं, सामना गरिरहेका छौं, नत्र आज धेरै भव्यता, ठूलो सहभागिताका साथ यो साधारण सभाको उद्घाटन सत्र सम्पन्न हुने थियो’, उनले भने, कोभिड १९ का कारणले यसरी बसेका छौं ।’

उनले आफ्नो सचिवालयमा उद्योगी व्यवसायीहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको समेत सुनाए ।

महामारीका कारण अर्थतन्त्रमा परेको दुस्प्रभावले कसरी छुटाउने र कसरी माथि उठ्ने, पहिलेकै अवस्थामा कसरी फर्काउने र अगाडि बढाउने भन्ने प्रश्न अगाडि आएको उनले बताए ।

उनले यो साधारण सभाले कोभिड १९ र अबको अर्थतन्त्रबारे सरकारलाई समेत उपयोगी हुने निस्कर्ष निकाल्ने विश्वास लिए ।

उनले भने,‘हामी साझा समस्या भोगिरहेका छौं र समस्या निराकरण पनि संयुक्त प्रयासबाट नै सम्भव हुन्छ ।’

उनले सरकार र निजी क्षेत्र मिलेर नै समस्यासँग जुध्न सक्ने र पार पाउन सक्ने बताए ।

‘खुसीको जानकारी आइरहेको छ, कोभिड १९ का विरुद्ध खोप विभिन्न मुलुकले पत्ता लगाएका छन्, जसले मानव जातिलाई यसको विरुद्धको लडाइँमा सफलता दिने छ’, उनले भने ।

भ्याक्सिनको आविस्कार मानव जातीका निम्ति ठूलो उपलब्धी भएको र साझा उपलब्धी हुनुपर्नेमा उनले जोड दिए ।

यसले अर्थतन्त्रमा पारेको असरलाई पराजित गर्दै अर्थतन्त्रलाई फेरि माथि उठाउनुपर्ने भन्दै आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको भन्दै उनले अहिले शून्यको अवस्थामा आएको बताए ।

उनले भने,‘बचत नहुनेहरूलाई यसले असर पार्ने बताए ।

उनले भने,‘उद्योगहरूलाई लाग्छ होला, कतिपय देशका सरकारले आर्थिक उत्थानका लागि राहत दिइरहेका छन्, नेपाल सरकारले किन दिँदैन ? उनले थपे, नेपाल सरकार मनको धनी नभएको हैन, गच्छेअनुसार दिने गरेको छ । रिजर्भ तथा बचत नभएका कारण सिमित मात्र सहयोग गर्न सकिने छ ।’

उनले अभिभावकको गच्छेअनुसार नै निजी क्षेत्रले अपेक्षा गर्नुपर्ने बताए ।

उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिपरेको बताएका छन् ।

बजारमा प्रधानमन्त्रीले दलाल पूँजीवादलाई प्रश्रय दिएको भन्दै उद्योगीलाई त्रसित बनाउने अभिव्यक्ति सुनेर द्विविधा भएको हुन सक्छ । म स्पष्ट पार्न चाहन्छु, सरकार, उद्यमी व्यवसायीहरूमा मेरो र तेरो भन्ने हुँदैन, राष्ट्रका निम्ति योगदान गरिरहका, राष्ट्रका साझा सम्पत्ति हुन् , सबै समान छन् ।’

उनले राज्यले सबैलाई कानून सम्मत ढंगले संरक्षण दिने भन्दै व्यवसायीहरूले कारोबारमा मितव्ययिता अपनाउन् भन्ने मात्र सरकारले चाहने बताए । उनले भने,‘स्वच्छताका साथ अगाडि बढ्न सरकारले सबैलाई प्रेरित गर्छ । मन नपरेकालाई दलाल पूँजीवाद, मन नपरेकालाई नवउदारवाद, आदि कुराहरूले विभिन्न विशेषणहरू भिराएर आतंकित गर्नुपर्ने कुनै आवश्यकता छैन ।’

हामीले हाम्रैलाई सबल बनाउन नसकेका कारण बाह्य लगानी आवश्यक हुने गरेको बताउँदै उनले ठूला ठूला आयोजनामा लगानी गर्न सक्ने गरी विकास गर्न आग्रह गरे ।

उनले पूँजी यहाँ कमाउने र लगानी बाह्य गर्ने काम नगर्ने सुझाए । देशप्रति माया गर्न सिक्न उनले सबैको ध्यानाकर्षण गराए ।

उनले मुलुकमा लगानी गर्न सहज भएको भन्दै बढी मुनाफा लिन सकिने बताए ।

उनले भने, आवश्यक पर्ने सुविधा छुट कानूनबमोजिम दिन सकिन्छ, जे न्यायोचित छ त्यसलाई कानून बदलेर पनि अगाडि बढाउन सकिन्छ ।’

उनले ठूलो परिमाणमा उत्पादन गर्न र निर्यात गर्नु अहिलेको आवश्यकता भएको भन्दै यसमा सरकार सहयोग गर्न तयार रहेको बताए ।

उनले भने, ‘कसैले आफ्ना काँचा कार्यकता ल्याउनका लागि, हुन सक्छ विभिन्न प्रकारका कुराहरू बोल्छन्, यो लोकतान्त्रिक मुलुक हो , यहाँ जिम्मेवारी वहन गर्नुभन्दा स्वतन्त्र हुन बढी बोल्ने गरेका छन्, उनीहरूको बोलीमा नपर्न म आग्रह गर्न चाहन्छु ।’

सरकार आर्थिक विकासका लागि सबै क्षेत्रसँग सहकार्य गर्न तयार भएको उनको भनाइ छ ।’

प्रकाशित मिति : बिहीबार, ११ मंसिर २०७७ १५:४८
प्रतिक्रिया दिनुहोस्