कोलेदु बजारको नवनिर्मित कालिका देवी मन्दिरको उदघाटन
सोलुखुम्बु, १८ चैत्र/माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा अवस्थित कोलेदु बजार क्षेत्रमा नवनिर्मित कालिका देवी मन्दिरको औपचारिक उदघाटन गरिएको छ । कोलेदु मन्दिर बजार व्यवस्थापन समितिद्वारा बुधबार आयोजित कोलेदु मेलाको अवसरमा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सो मन्दिरको उदघाटन गर्नुभएको हो ।
मन्दिरको उद्घाटन गर्दै अध्यक्ष राईले लुकेर रहेका यहाँको भूगोल, प्राकृतिक वातावरण तथा विविधताहरुलाई पहिचान गरेर पर्यटन पदमार्गसँग जोड्नुपर्ने बताउनुभयो । धार्मिक र सांस्कृतिक हिसाबले मात्रै नभएर यस क्षेत्रमा रहेको भीर मौरीलाई हनिहन्टिङ टुरिजमको रुपमा विकास गर्न सकिने आधार रहेको भनाई उहाँको छ ।
अध्यक्ष राईले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि गाउँपालिकाले अभिलम्ब सडक ट्रयाक ओपन गरिदिने, मन्दिरसम्म सहज रुपमा हिडेर पुग्न सकिने सिँढी निर्माणका लागि बजेट विनियोजन गरिदिने र आवश्यकताका आधारमा अरु संरचनाको लागि काम गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
स्थानीय समाजसेवीहरुको आर्थिक सहयोगमा मन्दिर निर्माण गरिएको पूर्व वडाध्यक्षसमेत रहनुभएका बजार व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर थापा मगरले जानकारी दिनुभयो । यसलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्नेगरी योजना बनाइएको उहाँको भनाइ छ ।
यस क्षेत्रमा विभिन्न आकर्षक देवी देवताहरुको स्थापना गरिएको छ । नवनिर्मित मन्दिरभित्रै बाह्रैमास कलकल तातो पानी बग्ने मुहान रहेको छ । हरेक वर्षको मंसिर र चैत महिनामा पूजा गर्ने तथा सोही अवसरमा यहाँ मेला लाग्ने गरेको छ । कोलेदुको दर्शन गर्दा आफूले मागेको, सोचेको भरभाकल पूरा हुने जनविश्वास छ । त्यत्तिमात्रै होम यहाँको तातोपानीले नुहाउँदा घाउखटिरा जस्तो रोग सञ्चो हुने विश्वास पनि गरिन्छ ।
मेलामा आर्थिक सहयोग दाताहरुलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । पूजाआजाका सम्पूर्ण विधि पण्डित कृष्ण घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा वडाध्यक्ष चन्द्रबहादुर राई, वडा नम्बर ३ का पूर्व वडाध्यक्ष नारायणकाजी कार्की, कार्यपालिका सदस्य प्रकाश खालिङ र मेलिना राईलगायत, पुजारी तथा दर्शनार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

