प्रचण्ड–नेपालले आत्मालोचना गरे संयुक्त आन्दोलन : कांग्रेस प्रवक्ता शर्मा
photo google
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग संयुक्त आन्दोलनका लागि केही पूर्वशर्त रहेको बताएका छन् । मुलुकले आवश्यकता महसूस गर्दा संयुक्त आन्दोलन गर्न सकिने सम्भावना बाँकी नै रहेको उनले बताए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले सोमवार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले नेकपाको एउटा गुटसँग आन्दोलनमा जान नसकिने बताएका हुन् ।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर हामीले पुस ५ गते नै निर्णय गरिसकेका छौं र विज्ञप्ति जारी गरेका छौं । प्रचण्ड र माधव नेपालहरूले अपील गरिरहनुभएको छ । तर हामी संयुक्त आन्दोलन गरिरहेका छैनौं किनकि पहिलो उहाँहरू नेकपा नै हुनुहुन्छ, एउटा सरकारमा छ, एउटा सडकमा छ । एउटा समूहले सरकार चलाइरहेको छ, नेकपाको अर्को गुटसँग आन्दोलनमा जान सक्दैनौं । संयुक्त हुनको लागि पूर्वशर्त जरुरी छन्,’ शर्माले भने
मुलुकले आवश्यकता महसूस गर्यो भने संयुक्त आन्दोलनमा जान सकिने तर त्यसका लागि प्रचण्ड–नेपालले आत्मालोचना गर्नुपर्ने विषय रहेको बताए ।
‘हिजो सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बेला प्रचण्ड–नेपाल बोल्नुभयो कि भएन ? डा. गोविन्द केसीको माग उल्ट्याउँदै विधेयक पारित गर्न संसदमा मार्शल लगाएर पास गर्दा उहाँहरू हुनुहुन्थ्यो कि थिएन ? सरकारले गुठीको जग्गा कब्जा गर्न थालेको बेला गुठी विधेयकको विरुद्धमा हामी बोल्दा प्रचण्ड र माधव नेपाल उभिनुभएको थियो कि थिएन ? यो बेलामा संयुक्त आन्दोलनमा जाने भन्दै गर्दा आत्मालोचित हुनुपर्यो,’ शर्माले भने ।
नेकपा नेत्री रामकुमारी झाँक्री पक्राउ गर्दा आफूले विज्ञप्ति निकालेर विरोध गरेको स्मरण गर्दै प्रचण्ड–नेपालसँग शर्माले प्रश्न गरे, ‘हिजो रामचन्द्र पौडेललाई गिरफ्तार गर्दा बोल्नुभयो ? प्रवक्ता नारायणकाजी श्रेष्ठ यही हुनुहुन्थ्यो होला नि !’