Logo

जीवनमा एकचोटी पुग्नैपर्ने भर्जीन गन्तव्य ‘एभरेष्ट दुधकोशी कल्चरल ट्रेल’


गुराँसै गुराँसको बगैँचा । ठाउँ ठाउँमा प्राकृतिक भ्यू पोइन्ट । छङछङ बग्ने खोला नाला, खर्क, अनेकन जीवजन्तु, चराचुरुंगी, जैवीक विविधिता अनि रंगीविरंगी प्राकृतिक छटाहरु । तलतिर सुन्दर गाउँका दृश्य अनि माथितिर हेर्दा सफा निलो आकाश । आफ्नै वरीपरि चाँदीझै टलक्कै टल्किएका हिमालका दन्तेलहर । आहाँ, साच्चिकै क्या मनै लोभ्याउने ।

यत्तिमात्रै होइन विल्कुल अर्गानिक ग्रामिण जीवन शैली, फरक फरक साँस्कृतिक, धार्मिक एवं जातीय विविधताको चित्रले जो कसैलाई मोहित नपार्ने कुरै भएन । दृश्य हेरेर आँखा थाक्दैन, डुलेर मन अघाउँदैन । अर्थात्, यहाँ जसको बयान गरेर  साध्य छैन ।

यत्ति हुँदा हुँदैपनि ओझेलमा परिरहेको भर्जीन पर्यटकीय गन्तव्यको पहिचान एवं प्रवर्द्धनका निमित्त अहिले जुर्मुराइरहेको छ स्थानीय सरकार ‘माप्य दुधकोशी गाउँपालिका’ ।

उक्त गन्तव्यलाई बृहत अर्थ लगाउँदै ‘एभरेष्ट दुधकोशी कल्चरल ट्रेल’को रुपमा नामाकरण गरी काम अघि बढाइएको छ । आन्तरिक तथा वाह्य पर्यटकका लागि छोटो समयमा धेरै अनुभव लिन सकिने फुल प्याकेज गन्तव्य हो यो ।

पर्यटन प्रवर्धनका लागि छुट्टै बजेटको व्यवस्थासमेत गरिएको छ । अनगिन्ति सम्भावनाहरुलाई पर्यटनसँग जोड्नका लागि गाउँपालिकाले अहिले चरणबद्ध लगानी सुरु मात्रै गरेको छैन, आवश्यक पर्यटकीय पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनार्थ ठोस कार्ययोजनासहितको दीर्घकालिन कामसमेत अघि बढाएको छ । पर्यटनसम्बद्ध निकाय एवं संघसंस्थाहरुसँग सहकार्य गरेर उसले यी कामहरु अघि बढाएको हो ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)सँगको सहकार्यमा गाउँपालिकाले स्थलगत सर्भेको काम सम्पन्न गरिसकेको छ र हाल सोको फाइनल दस्तावेज तयार गर्ने काम भइरहेको बुझिएको छ । र, निकट समयमै गाउँपालिकास्तरीय पर्यटन प्रवर्द्धनात्मक एक बृहत फार्म ट्रिप आयोजना गर्ने तयारी भइरहेको छ ।

यसैबीच गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको भौतिक उपस्थितिमा यो रुटको थप संरचना निर्माण तथा प्रवर्द्धनका लागि स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसहितको प्रि फार्म ट्रिप सम्पन्न भएको छ । सम्बन्धित वडाका वडा अध्यक्षहरु, स्थानीय जनप्रतिनिधि, सरोकारवाला एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको प्रि फार्म ट्रिपमा आवश्यकताको पहिचान, पदमार्गको सुधार एवं विस्तार, प्रवर्द्धनका लागि थप योजना तर्जुमा तथा सुझाव संकलन, सहभागिहरुबीचमा अनुभव साटासाटसहितको अन्तक्रियात्मक छलफल गरिएको छ ।

यात्राको क्रममा गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाको सर्वांगीन विकासका लागि पर्यटन प्रवर्द्धन र विकासमा लाग्नको लागि सम्बन्धित जनप्रतिनिधि, सम्बन्धित सरोकारवाला र स्थानीयलाई प्रेरित गर्नुभयो ।

‘यो त हामीले अहिले सुरु गरेर पुस्तौ पुस्ताले लाभ लिने काम हो’ उहाँले अनौपचारिक गफगाफको क्रममा पटक पटक दोहोर्याउँदै भन्नुभएको थियो ‘हामीले थुप्रै खाले योजना तथा कार्यक्रमहरु गरिरहेको छौं, तीमध्ये यो पदमार्गको पहिचान, प्रवद्र्धन र सञ्चालनले दीर्घकालिन सकारात्मक प्रभाव पर्नेछ । यसको फल अहिले नै पाइहालिन्छ भन्ने हुन्न । तर, अब हाम्रो जस्तो गाउँपालिकाको सुन्दर भविष्य यसैमा छ भन्ने मलाइ लाग्छ । के पाइन्छ भन्दा पनि कसरी हामीले योगदान गर्न सक्छौं भनेर जनप्रतिनिधि, सम्बन्धित सरोकारवाला सबै यसतर्फ लागौं ।’

प्रि फार्म ट्रिपकै शिलशिलामा गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि एक नागरिक एक शेयर अभियानको अवधारणा अघि सार्ने अनौपचारिक छलफलसमेत भएको छ । गाउँपालिकाले यसअघि पनि पर्यटकीय गतिविधिसँग सम्बन्धित विभिन्न कार्यहरुको थालनी गरेको थियो ।

गाउँपालिकाले आफ्नो आवधिक योजनामै पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ । त्यसोत, अहिले ‘पर्यटन र कृषिः सुखी र खुशी, माप्य दुधकोशी’ भन्ने गाउँपालिकाको नारा नै गाउँसभाबाट पारित भइसकेको छ ।

एभरेष्ट दुधकोशी कल्चरल ट्रेल कसरी पुग्न सकिन्छ ?

एभरेष्ट दुधकोशी कल्चरल ट्रेलका लागि हवाई मार्ग प्रयोग गर्ने पर्यटक फाप्लु विमानस्थल हुँदै र स्थलमार्गबाट सहजै जिल्लाको सदरमुकाम सल्लेरी आइपुगिन्छ । जहाँ पर्यटकका लागि सबै स्तरका सेवा सुविधा सम्पन्न होटलहरु उपलब्ध रहेको छ ।

सल्लेरी आइपुगेको भोलीपल्ट अर्थात् पहिलो दिनः पर्यटक सगरमाथा जोड्ने लाइफलाइन सडकमा गाडिबाट वा पदयात्रा गर्दै माप्य दुधकोशी गाउँपालिकाको मुख्य प्रवेशद्धार सिलगुढी डाँडा आएर एक रात त्यहाँ गोठस्टे वा रिसोर्टको अनुभव लिने छन् ।

 

दोस्रो दिनः विहान सिलगुढी डाँडाबाटै नांगो आँखाले विश्वको सर्वोच्च शिखर सगरमाथासँगै हिमश्रृंखला अनि प्राकृतिक सुन्दरताको दृश्पान गर्दै बे्रकफास्ट गरेपछि घुम्नेमेरा पुगेर लञ्च हुनेछ । घुम्नेमेरा लञ्चसँगै तेङमितेन छोलिङ गुम्बा तथा यहाँको विविध कुराको अवलकन गर्न पाइनेछ । लञ्चपछि गाउँपालिकाको बृहत गुरुयोजनाअन्तर्गत निर्माण हुन लागेको साँस्कृतिक बुद्धपार्क क्षेत्र हुँदै कुधम मिड क्याम्पमा बसाई हुनेछ ।

तेस्रो दिनः कुधम हाईक्याम्प उक्लेर त्यहाँबाट अनेकन दृश्यहरु कैद गरिने छ । जहाँबाट पिके पिक, मेरा पीकलगायत २२ वटा पिक देख्न पाइन्छ भने खुम्बु रेञ्जको हिमाल अनि अनेकन डाँडाकाडा हेरेर फर्किएपछि बे्रकफास्ट गरेर योतेल्म्य पर्यटन सेल्टर आएर बास बस्ने ।
चौथो दिनः योतेल्म्य पर्यटन सेल्टर घनाजंगलको बिचमा रहेको बृहत चौर हो । जहाँ अहिले गाउँपालिकाको लगानीमा ढुंगा, माटो र काठबाट भूकम्प प्रतिरोधी अनि प्रकृतिमैत्री सेल्टर निर्माण गरिएको छ । र, यहाँबाट सनसेट, हिमालहरुको दृश्य देखिनुका साथै प्राकृतिक एवं जैवीक विविधताको अध्ययन, अवलोकन गर्न सकिन्छ । यो एउटा यसतो चौर हो जसको वरीपरी पूरै थरी थरीका लालिगुराँसको बगैचाँले घेरिएको छ ।

पाँचौं दिनः योतल्म्यबाट दुईवटा पदमार्ग रहेको छ । यहाँबाट राप्छामा निर्माणाधिन चिण्डो पार्क, राप्छा वासख्वाम्, गाउँपालिकाको कार्यालय क्षेत्र, लुरको शिवमन्दिर, लोमु्र वासख्वाम्, महभीर, सुन्दर झरणा हुँदै आफ्नो गन्तव्यतर्फ छोट्याउन पनि सकिन्छ । त्यसपछि अर्को अर्को योतेल्म्यबाट अँधेरी, माप्य खुम्बु मितेरी पुल हुँदै जुभिङ आएर बास बस्ने ।

छैटौं दिनः बुम्बुरी, यस क्षेत्रको सबैभन्दा पुरानो गुम्बाको अवलोकन तथा यहाँको प्राकृतिक दृश्यवालोकन गर्दै छेछेव्या, हिल, हिल गुम्बा, पवित्र ठाउँ जलेश्वरी हुँदै वाकुमा आएर बास बस्ने ।

सातौं दिन त्यस क्षेत्रको साँस्कृतिक, धार्मिक, प्राकृतिक दृश्यवलोकन गर्दै काँकु सुन्दर झरणा हुँदै आफ्नो गन्तव्यतर्फ जान सकिने छ ।

र, अर्को खुम्बु क्षेत्र घुम्न चाहाने पर्यटकका लागि पनि यो उपयुक्त गन्तव्य हो । जसको लागि जुभिङ पुगेपछि उकालो लाग्नुपर्छ ।

यो पूरै रुट सडक र वस्ती भन्दा केही उचाई अलग्गै रहेकोले शान्त अनि ठाउँ ठाउँमा पानीको स्रोत प्रसस्तै भएकोले क्याम्पिङ गर्न एकदमै सहज छ ।

प्रकाशित मिति : शुक्रबार, ८ मंसिर २०८० १६:१५
प्रतिक्रिया दिनुहोस्