माप्य दुधकोशी गाउँपालिकाका दुई यूवाले चढे आमदब्लम हिमाल
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाका दुई यूवाले विश्वको सुन्दर हिमाल आमादब्लम (६८१२ मि.) को सफल आरोहण गरेका छन् ।
यूकेका नागरिक क्रिस ज्याक्सनसँगै माप्य दुधकोशी गाउँपालिका वडा नं. २, राप्छाका टेकचन्द्र राई र वडा नं. ६ युङदपका जंगबहादुर राईले २०८० मंसिर १६ गते शनिबार विहान १०ः५५ मा आमदब्लम हिमालको सफल आरोहण गरेका हुन् ।
उनीहरु काठमाडौं ठमेलमा रहेको मकालु एडभेन्चर कम्पनीमार्फत हिमाल आरोहणमा गएका थिए । विगत लामो समयदेखि पर्यटन क्षेत्रमा कार्यरत उनीहरुले यसै क्षेलाई आफ्नो करियरको रुपमा अघि बढाइरहेका छन् ।
यसअघि पदयात्राका साथै क्लाइम्बिङ सम्बन्धि विभिन्न तालिमहरु लिएका उनीहरुसँग विभिन्न क्षेत्रको टे«किङ गाइड गरेको अनुभव छ ।
आमादब्लमको सफल आरोहणपछि आरोही टेकचन्द्र राईले थुप्रैखाले अनुभवमध्ये यो करियरको एउटा सुनौलो अनुभव भएको सुनाए ।