अमेरिकी सेनाका इन्डो-प्यासिफिक कमान्डर काठमाडौँमा
काठमाडौँ । अमेरिकी इन्डो–प्यासिफिक कमान्डका प्रमुख एडमिरल जोन एक्युलिनोल काठमाडौँ आएका छन् । पाँचखालमा यही फागुन ८ देखि सुरु भएको शान्ति प्रयासको चौथो चरणको अवलोकनका लागि उनी नेपाल आएका हुन । उनी आइतबार सो कार्यक्रममा सहभागी हुँदैछन् ।
१९ देशका एक हजार १ सय सैनिकको सहभागिता रहेको सो प्रयास यही फागुन २१ गते सम्पन्न हुनेछ । नेपाल र अमेरिकी सेनाको संयुक्त प्रयासमा सो अभ्यास हुँदै आएको छ । अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभ र नेपाली सेनाले शान्ति प्रयास सञ्चालन गर्दै आएका छन् ।
अमेरिकी इन्डो–प्यासिफिक कमान्डका प्रमुखले काठमाडौँमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खडका, प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च पदस्थहरूसँग भेट गर्ने कार्यक्रम छ । उनी भारतको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन् ।