Logo

सोलुखुम्बुमा ३० मेगावाटको होंगु खोला जलविद्युत् निर्माण हुने


काठमाडौँ । श्री आइवी इनर्जी प्रालिले सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिका हुँदै बग्ने होंगु खोलामा ३० मेगावाटको होंगु खोला-१ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । आयोजना निर्माण गर्ने उद्देश्यले अध्ययन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

कम्पनीका अनुसार आयोजना अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट उक्त आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) स्वीकृत भइसकेको छ । आयोजना निर्माणका क्रममा कुनै असर पर्ने देखिए सूचना प्रकाशित भएको ३५ दिनभित्र विभाग तथा सम्बन्धित कार्यालयमा राय–सुझाव पेश गर्न सूचित गरिएको छ ।

वार्षिक १७३.४० गिगावाट घन्टा (१७ करोड ३४ लाख युनिट) ऊर्जा उत्पादन हुने आयोजनाको विद्युत्‌गृह सोताङ गाउँपालिका–३ पोक्चुङ सोलुखुम्बुमा रहने जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् ६० किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत न्यू खिम्ती सब–स्टेसनमा जोडिने छ । आयोजनाको बाँध क्षेत्रभन्दा तल्लो तटीय क्षेत्रमा पाइने जीवजन्तु, जलचर तथा बोटबिरूवाका लागि आइइई प्रतिवेदन अनुसार होंगु खोलामा निरन्तर पानी छाड्ने प्रस्ताव कम्पनीले गरेको छ । आयोजनाबाट २०८५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : सोमबार, १४ जेष्ठ २०८१ १३:०८
प्रतिक्रिया दिनुहोस्