Logo

खालिङ संस्थाले काठमाडौंमा विद्यार्थीहरुका लागि करियर काउन्सिलिङ कार्यक्रम आयोजना गर्दै


काठमाडौं, २७ असार २०८१ । किरात खालिङ राई उत्थान संघले विद्यार्थीहरुका लागि शैक्षिक अभिमुखीकरण र करियर काउन्सिलिङ कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाको काठमाडौं जिल्ला कार्यसमितिले आउँदो असार २९ गते शनिबार काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेशनल कलेजमा सो कार्यक्रम आयोजना गर्न लागेको हो ।

विशेषगरी भरखरै एसईई उत्तीर्ण गरी उच्च शिक्षाका लागि तयारीमा रहेका खालिङ समुदायका विद्यार्थीहरुको लागि मार्गदर्शन गर्नुका साथै विभिन्न तहमा अध्ययनरत र केही गर्छु भनेर लागिरहेका व्यक्तिहरुका लागि सम्बन्धित विषयमा अभिप्रेरित गर्ने उद्देश्यले संस्थाले पहिलो पटक यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

यो कार्यक्रम विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई सही विषय छनोट गर्दै सुन्दर भविष्यका लागि विशिष्ट व्यक्तित्वहरुमार्फत मार्गनिर्देश गरिनुका साथै विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने एउटा प्रारम्भिक माध्यम हुने संस्थाका अध्यक्ष विष्णु खालिङले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपाल सरकारका उपसचिव अमृत कुमार खालिङले निजामती र लोकसेवा सम्बन्धि विशेष प्रस्तुति दिनुहुने छ भने एमफील विना खालिङ र अधिवक्ता सुर्यमनि खालिङले आआफ्नो विधामा प्रस्तुतिकरण दिने कार्यक्रम राखिएको छ । आयोजक संस्थाकाअनुसार सनराइज बैंकका सिइओ सुदेश खालिङको समेत प्रस्तुति राख्नका लागि पहल भइहेको छ ।

कार्यक्रममा डेढ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा खालिङ संस्थाका केन्द्रीय अध्यक्ष बलबहादुर खालिङसँगै समुदायका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने छ ।

टेक्सास कलेजको मुख्य प्रायोजन तथा रुवीभ्याली स्कुल, ग्रामर स्कुल र पवन प्रकृति इंलिस बोर्डिङ स्कुलले सहयोग गरेको छ ।

प्रकाशित मिति : बिहीबार, २८ असार २०८१ १०:२९
प्रतिक्रिया दिनुहोस्