Logo

टान संयुक्त लोसारको भव्यतासँगै नयाँ पदमार्ग शुभारम्भ तथा पर्यटन प्रवर्द्धनार्थ एमओयु सम्पन्न


काठमाडौं, २९ फाल्गुन । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त लोसार साँस्कृतिक कार्यक्रम २०२५ बुधबार काठमाडौंको होटल याक एण्ड यतिमा भव्यताका साथ सम्पन्न गरेको छ । आयोजना गर्ने भएको छ । गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानबीर राई, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी तथा कुटनीतिक नियकका प्रमुख तथा प्रतिनिधिसहितको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

संयुक्त लोसारसँगै टानले गोरखा र लमजुङ जिल्लामा पर्ने नयाँ पदमार्गको औपचारिक शुभारम्भ गर्नुका साथै पर्यटन प्रवद्र्धनका लागि साझेदारी गर्नेगरी सम्झौता (एमओयुक्त)मा हस्ताक्षर गर्ने महत्वपूर्ण कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

सो अवसरमा टानले बुद्ध हिमाल हिमालचुली ग्रेटलेक सर्किट ट्रेलको शुभारम्भ गरेको हो । कार्यक्रममा गोरखा र लमजुङका ५ वटा गाउँपालिकाका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । त्यस्तै टानले पदयात्रामा जाने पदयात्रीहरुको हवाई टिकेटिङलगायतमा सहुलियत तथा सहजीकरण गर्दै पर्यटन प्रवद्र्धनमा सहकार्य गर्नेगरी यति एयरलाइन्ससँग सम्झौता गरेको छ ।
कार्यक्रममा शेर्पा, गुरुङ, तामाङ र वालुङ समुदायको साँस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो । त्यस्तै गायक तथा संगीतकार रोज मोक्तान, गायक छोङ्बा शेर्पा, कलाकार शेरबहादुर गुरुङलगायतको बेजोड सांगीतिक प्रस्तुतिसमेत रहेको थियो ।

कार्यमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपालको पर्यटन क्षेत्रमा रहेका समस्याहरुको समाधानका लागि सरकार सधैं तत्पर रहेको उल्लेख गर्नुभयो । पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारसँग आवश्यक समन्वय र सहकार्यका लागि टानलगायतका संघसंस्था तथा व्यवसायीहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

रक्षामन्त्री मानबीर राईले टानले संयुक्त रुपमा लोसार पर्व मनाएकोमा खुशी व्यक्त गर्दै यसखालका बहुआयमिक संस्कृतिहरुलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
टानका अध्यक्ष सागर पाण्डेले लोसार पर्वलाई पर्यटकीय आकर्षणको रूपमा प्रवद्र्धन गर्दै, पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाहरू तथा व्यवसायीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा यसलाई थप परिस्कृत गर्दै लैजाने बताउनुभयो ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले टान संयुक्त लोसार कार्यक्रम एक मनोरञ्जनमात्रै नभएर विविधतायुक्त समुदायको संस्कृतिहरुलाई पर्यटकीय उपजको रुपमा स्थापित गर्ने उद्देश्ययका साथ आयोजना गरिएको बताउनुभयो ।

टान संयुक्त लोसार साँस्कृतिक कार्यक्रम २०२५ का संयोजक लाक्पा तेम्बा शेर्पाले कार्यक्रमका लागि तत्तत् ठाउँबाट साथ सहयोग गर्ने संस्था, कम्पनी र व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : बिहीबार, २९ फाल्गुन २०८१ २१:५०
प्रतिक्रिया दिनुहोस्