हर्क सम्पाङको अभियानमा अमेरिकाबाट मकर खालिङको साथ, ५ लाख सहयोग लिएर पुगे धरान

काठमाडौं, १० चैत । हाल अमेरिकामा बसोबास गर्ने समाजसेवी मकर खालिङले सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले थाल्नुभएको प्रतिमा निर्माण अभियानका लागि उहाँ आफुले केही र अमेरिकामा बस्ने आफन्तजन तथा सहयोगी मनहरुबाट केही गरी जम्मा गरी एकमुष्ट रु. ५ लाख ५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
किरात खालिङ राई उत्थान संघ अमेरिका शाखाका अध्यक्षसमेत रहनुभएका उहाँले नेपाल आएको मौका पारेर मेयर हर्क साम्पाङलाई धरानमै भेटी सो सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । समाज र देश विकासमा मेयर हर्क साम्पाङले अघि बढाएका सबै अभियान मनन योग्य रहेको भनाइ खालिङको छ । रकम हस्तान्तरणअघि अमेरिकाबाट आएको खालिङ नेतृत्वको टोलीले हर्क सम्पाङले बनाएको श्रम संस्कृति पार्कलगायत धरानका विभिन्न ठाउँको स्थलगत भ्रमण तथा अवलोकन गरेको थियो । मेयर हर्क साम्पाङको गतिशिलता तथा पारदर्शिताको प्रशंसा गर्दै खालिङले आगामी दिनमा पनि थप सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
सहयोग रकम ग्रहण गर्दै मेयर हर्क साम्पाङले स्वतस्र्फुत रुपमा अमेरिकाबाट सहयोग लिएर धरान आउने खालिङसँगै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
खालिङले अमेरिकाबाट नेपालमा सञ्चालन हुने विभिन्न अभियानहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आउनुभएको छ । खालिङहरुको आदिम पूर्खा निन्वाम्रिदम र ख्वाम्द अनि माप्य र दिक्प्यको स्केच परिकल्पनाकारसमेत रहनुभएको उहाँ सोलुखुम्बु जिल्लाको साविक जुभिङ गाविसको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।