नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको अध्यक्षमा गुरुङ

काठमाडौं : नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले बलराम गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत रुपमा चयय भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दावा शेर्पा, उपाध्यक्षहरूमा दान बहादुर चन्द, सोनाम लामा, राधा कुमारी पन्त रहेका छन् । त्यस्तै महासचिवमा सुकुमान बोम्जन, सचिवहरूमा आशिष लामा र विवश योञ्जन चयन भएका छन् भने कोषाध्यक्षमा राजेश कुमार रायमाझी र सह-कोषाध्यक्ष ङिमा जाङ्बो शेर्पा रहेका छन् ।
सदस्यहरूमा नरहरि थापा, कृष्ण मान प्रजापति, नाम्लाङ तेन्जिङ, सुरेश लामा, पुष्प रत्न महर्जन, भिम वहादुर तामाङ, लमिन माया लामा, डोल्मो बम्जन, कृष्ण बिक्रम शाह, आङ दोर्जे शेर्पा चयन भएका छन्।
इन्जिनियर तेन्जिङ शेर्पाको अध्यक्षता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अवसरमा गलैंचा उद्योगमा योगदान पुर्याउने विभिन्न कम्पनीहरू र व्यक्तिहरूलाई सम्मानित गरिएको थियो ।
उत्कृष्ट निर्यातकर्ता अवार्ड कसले पाए ?
थर्ड आइ इन्टरनेशनल
द सङ्ग्रिला कार्पेट इन्डस्ट्रीज एन्ड ह्यान्डिक्राफ्ट्स
ग्याल्छेन रग इन्डस्ट्री
उत्कृष्ट उत्पादक अवार्ड
लक्ष्मी कार्पेट
एच एम कार्पेट उद्योग
टिपेन कार्पेट उद्योग
उत्कृष्ट बुन्कर अवार्ड
मङ्गली तामाङ
नजरे लोप्चन
शान्त कुमार श्रेष्ठ
उत्कृष्ट बुन्करहरूलाई सम्मानस्वरूप रु. १०,००० नगद पुरस्कार समेत प्रदान गरिएको थियो । बुन्करहरू दशकौँदेखि गलैंचा उद्योगमा सक्रिय रहँदै आएका छन् । उनीहरू जस्ता बुनकरहरुको सीप र परिश्रमले नेपाली गलैंचालाई अन्तर्राष्ट्रिय बजारमा उच्च स्थान दिलाएको छ। नेपाली गलैंचाको मुख्य विशेषता नै यसको हस्तकला (ह्यान्डिक्राफ्ट) हो, जुन हस्तनिर्मित डिजाइन हो । हस्तनिर्मित डिजाइनका कारण नेपाली गलैंचा विश्वभर प्रख्यात छ।
यस सम्मानले नेपाली हस्तकला उद्योगमा संलग्न श्रमिकहरूको प्रेरणा बढाउने विश्वास गरिएको छ।
नवनिर्वाचित अध्यक्ष बलराम गुरुङले नेपालको गलैंचा उद्योगको इतिहास गर्विलो रहेकाे भन्दै विगतमा, नेपाली गलैंचाले अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान बनाएको तर हाल हुनपर्ने सोचेजस्तो स्थानमा पुग्न नसकेको बताए । उद्योग उत्पादन लागत, कच्चा पदार्थको आपूर्ति, दक्ष जनशक्तिको उपलब्धता र व्यवसायीकिकरणमा चुनौतीहरूको सामना गर्दै आएको उनको भनाई थियो ।
गुरुङले गलैंचा क्षेत्रमा आशाजनक र नवीन कार्यको सुरुवात गर्दै दीर्घकालीन समृद्धि सुनिश्चित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
कार्यक्रमका वक्ताहरूले नेपाली उद्योग व्यवसायलाई सशक्त बनाउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको महत्वलाई जोड दिएका छन्।