Logo

अन्नपूर्ण हिमाल आरोहणको हिरक महोत्सव आगामी जेठ १६ देखि २२ सम्म मनाइने


काठमाडौं । विश्वको पहिलो आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणका रूपमा दर्ज भएको अन्नपूर्ण प्रथम (८,०९१ मि) सफल आरोहण गरेको ७५ वर्ष पुगेको अवसरमा ‘अन्नपूर्ण हिरक महोत्सव’ आयोजना गरिने भएको छ।

अन्नपूर्ण प्रथम हिमालको ऐतिहासिक आरोहणको स्मृतिमा आगामी जेठ १६ देखि २२ गतेसम्म ‘हिरक महोत्सव’ मनाउन लागिएको हो ।

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुईस लचेनसहित दुई नेपाली शेर्पा सोनाम वाङ्चुक र अंग थार्केले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए । अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) र स्थानीय पर्यटन व्यवस्थापन समितिको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ।

महोत्सवका प्रमुख आकर्षणका रूपमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी मोहडास्थित आधार शिविर (बेस क्याम्प) मा तत्कालीन आरोहीहरू मौरिस हर्जोग, लुईस लचेनसहित नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको शालिक अनावरण गरिने कार्यक्रम तय गरिएको छ। उक्त शालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : मंगलवार, ३० बैशाख २०८२ २३:४४
प्रतिक्रिया दिनुहोस्