सगरमाथा हिमपहिरोको सत्यकथामा आधारित पुस्तक ‘शेर्पा’ सार्वजनिक

काठमाडौं । सगरमाथा क्षेत्रमा कार्यरत अनुभवी पर्वतीय पथप्ररदर्शक तथा प्रशिक्षक दावा टाशी शेर्पाको जीवनकथामा आधारित पुस्तक ‘शेर्पा, अ सर्भाइजर्स स्टाेरी: एभरेस्ट अभलन्च २०१४’ विमोचन भएको छ । शनिबार काठमाडाैंमा आयाेजित एक समाराेहबीच रक्षामन्त्री मानबीर राईले पुस्तकको विमोचन गर्नुभएको हाे।
नेपाल माउन्टेन लिडर एसोसिएसनका अध्यक्ष समेत रहेका शेर्पाद्वारा लेखिएको पुस्तकमा सन् २०१४मा सगरमाथामा भएको भीषण हिमपहिरो, त्यसबाट सिर्जित विपद्, त्यसमा उनले भोगेका त्रासदीपूर्ण क्षणहरू र समग्र हिमाली शेर्पा समुदायको यथार्थ जीवन संघर्ष समेटिएको छ।
पुस्तकमा २०१४को सगरमाथा हिमपहिरोका साथै त्यो घटनाले शेर्पा समुदायमाथि पारेको प्रभाव र नेपालको हिमाल पर्यटन क्षेत्रका चुनौतीहरूको चर्चा गरिएको छ ।
शेर्पाले लामो समयदेखि नेपालका उच्च हिमाली भेगहरूमा पर्वत मार्गनिर्देशकका रूपमा काम गर्दै आएका छन् । उहाँले आफूले प्रत्यक्ष अनुभव गरेका घटनाहरूलाई भावुक, यथार्थपरक र प्रेरणादायी शैलीमा प्रस्तुत गर्नुभएको छ।
कार्यक्रममा क्याप्टेन विजय लामा, नेपाल पर्वतारोहण संघ (एनएमए)का पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का महासचिव सोनाम ग्याल्जेन शेर्पा, पर्यटनविद् बच्चुनारायण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।