साेलुखुम्बुका याक तथा चाैरीपालकहरुलाई साेलार प्यानल सेट वितरण
सोलुखुम्बु, २९ मंसिर । साेलुखुम्बुका याक तथा चाैरीपालक कृषकहरुलाई साेलार प्यानल सेट वितरण गरिएकाे छ ।
हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बु (एचएचइएसएस) र रेड पाण्डा नेटवर्कको सहकार्यमा सञ्चालित समुदायमा आधारित रेड पाण्डा संरक्षण कार्यक्रम अन्तर्गत १३ जना चौरी पालकहरुलाई सोलार बिजुली सेट वितरण गरिएको हाे ।
सोलुदुधकुण्ड नगरपालिका, लिकुपिके, माप्य दुधकोशी र सोताङ गाउँपालिकाका विभिन्न स्थानमा चौरीपालन गर्दै आएका चौरीपालकहरूलाई सोलार सेट हस्तान्तरण गरिएको हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, साेलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले बताए । उनका अनुसार दुर्गम लेकाली क्षेत्रमा विद्युत् पहुँच नपुगेका चौरी गोठहरूमा उज्यालोको व्यवस्था गर्दै चौरीपालन व्यवसायलाई सहज बनाउने उद्देश्यले सोलार वितरण गरिएको हो।
यसले चौरीपालकको दैनिकी मात्र होइन, वन्यजन्तु संरक्षण र समुदाय–आधारित संरक्षण कार्यक्रमलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
लिखुपिके गाउँपालिकाका छिरी शेर्पा, मिङमार तेण्डी शेर्पा, काङ्छु छिरी शेर्पा, गेलु शेर्पा, जाङ्बु शेर्पा, सोलुदुधकुण्ड नगरपालिकाका साङ्गे शेर्पा, सोनाम शेर्पा, थुतोप दोर्जे शेर्पा, ल्हाक्पा शेर्पा, माप्यदुधकोशी गाउँपालिकाका नुर्बु शेर्पा, जाङ्बु शेर्पा, चतुरमान कुलुङ, सोताङ गाउँपालिकाका लाक्पा गेलु शेर्पाले साेलार प्यानल सँगै ब्याट्री, बत्ति, तार र कन्ट्रोलर पाएका छन् ।

