माप्य दुधकोशी गाउँपालिकाका सबै शिक्षक एकै ठाउँमा, मैत्रीपूर्ण प्रतियोगिता सम्पन्न
सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकामा शिक्षकहरुबीच दुई दिने मैत्रीपूर्ण खेल तथा साँस्कृतिक प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ, स्थानीय कार्यसमिति माप्य दुधकोशी गाउँपालिकाले वडा नम्बर २ स्थित बासाखाली माविमा आयोजना गरेको उक्त अवसरमा महिला तथा पुरुष भलिबल, खुला महिला ब्याटमिन्टन, लोकदोहोरी, नृत्य लगायतका प्रतियोगिता सञ्चालन भएको थियो ।
नेपाल शिक्षक महासंघ, स्थानीय कार्यसमिति माप्य दुधकोशीका अध्यक्ष देबी कुमारी राईले जानकारी दिनुभएको जानकारीअनुसार वडा स्तरीय भलिबल पुरुष तर्फ ८ टिमले सहभागिता जनाएकोमा जुभिङ १ (बी) टिम प्रथम, जुभिङ (ए) र साविक वाकु ६ ले क्रमशः द्धितीय र तृतीय स्थान हासिल गरेका भने महिला गाविस स्तरीय भलिबल प्रतियोगिताको प्रथम जुभिङ, द्धितीय वाकु, तृतीय बासा र वाकु भए ।
खुल्ला एकल महिला शिक्षक ब्याटमिन्टन प्रतियोगितामा २२ जनाले प्रतिस्पर्धा गरेकोमा वडा नम्बर १ का स्वस्तिका राई प्रथम, वडा नम्बर ७ का नलिका राई द्वितीय र वडा नम्बर २ का शशिकला राई र वडा नम्बर ४ का नौबरी राई तृतीय स्थान हासिल गरेका छन् ।
खुल्ला वडास्तरीय युगल नृत्य प्रतियोगितमा प्रथम वडा नम्बर ७, द्धितीय वडा नम्बर ५, तृतीय वडा नम्बर ३ भएको थियो भने खुल्ला साविक गाविस स्तरीय लोकदोहोरी प्रतियोगितामा प्रथम वाकु, द्धितीय काँकु, तृतीय बासा टिम भयो ।
माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गौरव राई, नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति अध्यक्ष जनक कुमार थापा, नेपाल प्रगतीशील शिक्षक संगठन केन्द्रीय सचिव होमा कटेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य टंक प्रसाद दाहाल, नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका अध्यक्ष मदन राई, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति अध्यक्ष खिलक कार्की, नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सचिव सुर्य बहादुर बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।
मान्य दुधकोशी गाउँपालिकामा ७ वटा मावि, ३ वटा उच्च मावि (कक्षा १२ सम्म) सहित जम्मा ३९ वटा विद्यालय रहेका छन् । जसमा साढे दुई सय बढि शिक्षक कर्मचारी कार्यरत छन् । 









