Logo

जनसंख्याभन्दा बैंक खाता बढी, मोबाइल बैंकिङ प्रयोगकर्ता करोडनजिक


काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खाता संख्या ३ करोड नाघेको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या ३ करोड ११ लाख १२ हजार १ सय ९४ पुगेको छ ।

एक व्यक्तिको एकभन्दा बढी बैंक खाता भएकाले र संस्थागत खाता पनि समावेश भएकाले जनसंख्याभन्दा बढी बैंक खाता भए पनि सम्पूर्ण नागरिको बैंक खाता भने अझै छैन । राष्ट्र बैंकले गत असार मसान्तसम्मको तथ्याङ्कलाई आधार मानेर गरेको एक सर्वेक्षणले ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको जनाएको थियो ।

एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाले निक्षेप खाताको संख्या ४५ लाख ५४ हजारले बढएका छन् । गत आवको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप खाताको संख्या २ करोड ५६ लाख ५८ हजार रहेका थिए भने गत असार मसान्तमा २ करोड ७८ लाख ६७ हजार पुगेको थियो । विगत ६ महिनामा ३२ लाख ४५ हजारले निक्षेप खाता बढेको हो ।

कुल बैंक खातामध्ये वाणिज्य बैंकहरूमा मात्रै २ करोड ५६ लाख २०९ हजार रहेको छ । त्यस्तै विकास बैंकमा ४८ लाख ५६ हजार र वित्त कम्पनीमा ६ लाख ३६ हजार छ ।

एक वर्षमा थपिए १ लाख ३८ हजार नयाँ कर्जा खाता
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्या करिब १५ लाख पुगेको छ । राष्ट्र बैंकको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएको खाताको संख्या १४ लाख ९८ पुगेको छ । यो गत असार मसान्तको भन्दा ५८ हजार र गत आवको सोही अवधि तुलनामा १ लाख ३८ हजारले बढी हो । गत असारमा बैंक तथा वित्तीय संस्थामा कर्जा खाताको संख्या १४ लाख ४० हजार र गत आवको पुस मसान्तमा १३ लाख ६० हजार थियो । कुल कर्जा खातामध्ये वाणिज्य बैंकमा ११ लाख १४ हजार, विकास बैंकमा ३ लाख ४० हजार र वित्त कम्पनीमा ४५ हजार छ ।

प्रविधिको प्रयोगकर्ता बढ्दै 
एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता ३४ लाख ११ हजार र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ८२ हजारले बढेको छ । पुस मसान्तसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ९८ लाख ६ हजार र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ९ लाख ६९ हजार छ । गत आवको सोही अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ६३ लाख ९५ हजार र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ८ लाख ५७ हजार थियो ।

मोबाइल बैंकिङ प्रयोगकर्तामा ८६ लाख ७९ हजार वाणिज्य बैंक, १० लाख ४९ हजार विकास बैंक र ७८ हजार वित्त कम्पनीको रहेका छन् । त्यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्तामा ९ लाख ३४ हजार वाणिज्य बैंक, ३० हजार विकास बैंक र ५ हजार वित्त कम्पनीका छन् ।

डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता बढ्दै 
एक वर्षको अवधिमा डेबिट कार्ड प्रयोगकर्ता १२ लाख ५३ हजार र क्रेडिट कार्ड प्रयोगकर्ता ४६ हजारले बढेका छन् । पुस मसान्तमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या ७२ लाख १६ हजार छ भने क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या १ लाख ४७ हजार पुगेको छ । गत आवको यही अवधिमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या ५९ लाख ६३ हजार र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या १ लाख १ हजार थियो ।

डेबिट कार्ड प्रयोगकर्तामा वाणिज्य बैंकमा ६९ लाख १३ हजार, विकास बैंकमा २ लाख ६४ हजार र वित्त कम्पनीमा ३९ हजार छन् । क्रेडिट कार्ड भने वाणिज्य बैंकले मात्रै जारी गर्ने गरेका छन् । क्रेडिट कार्ड जारी गर्न विकास बैंक र वित्त कम्पनीलाई राष्ट्र बैंकले अनुमति दिएको छैन । वाणिज्य बैंकले मात्रै जारी गरेका प्रिपेड कार्ड प्रयोगकर्ता करिब ६४ हजार छन् । 12khari.com

प्रकाशित मिति : शनिबार, १० फाल्गुन २०७६ ०८:४६
प्रतिक्रिया दिनुहोस्