टान संयुक्त लोसार २०२० यही फाल्गुन २१ गते होटल र्याडिसनमा हुँदै, तयारी तीब्र
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले यस वर्षको टान संयुक्त लोसार कार्यक्रम यही फाल्गुन २१ गते (४ मार्च २०२०)को दिन आयोजना गर्ने भएको छ । काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा बेलुकी साढे ५ बजेदेखि आयोजना गर्न लागिएको उक्त कार्यक्रमको तयारी तीब्र रुपमा भईरहेको कार्यक्रम संयोजक निमा दिकी शेर्पाले शिखरपोष्टलाई जानकारी दिनुभयो ।
वार्षिक रुपमा आयोजना गर्दै आइएको कार्यक्रमको निरन्तरताका रुपमा मात्रै नभएर २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुग्नेगरी यस वर्षको संयुक्त ल्होसार कार्यक्रमलाई पृथक बनाउने सोचका साथ अघि बढिरहेको उहाँले बताउनुभयो ।
हिमाली तथा पहाडी क्षेत्रमाबसोबास गर्ने विभिन्न समुदायहरुले नव वर्षको रुपमा मनाइने लोसारलाई विगत लामो समयदेखि टानले वार्षिक रुपमा टान संयुक्त लोसारको रुपमा मनाउंदै आएको छ ।
हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायहरुको संस्कृतिक प्रस्तुति, हाँस्यकलाकारहरुको प्रदर्शन, राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति, डिजे सेसन, डिनर कार्यक्रमका साथै डोर प्राइजलगायत टान संयुक्त लोसारको आकर्षणका रुपमा रहने छन् ।
कार्यक्रमस्थलमा प्रवेशका लागि टिकटको व्यवस्था गरिएको र अहिले टान सचिवालय मालिगाउँ तथा ठमेल टिम्स काउन्टरलगायतका विभिन्न ठाउँबाट टिकट लिन सकिने टानले जनाएको छ । टिकटको प्रतिव्यक्ति २,९९९ रुपैयाँ मुल्य तोकिएको छ ।