Logo

रुप फेर्दै प्रसिद्ध धार्मिकस्थल हलेसी


खोटाङ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको आकर्षण बढ्दै गएको छ । यद्यपी यसको ऐतिहासिक पुरातात्विक तथा सुन्दरतालाई ख्याल गरेर विकास नगरिएको भन्दै अलोचना पनि हुँदै आएको थियो ।अहिले नव गठित हलेसी विकास समितिले भने १५ बुँदै कार्ययोजना नै बनाएर यसतर्फ पाइला चालेको छ । समितिले धार्मिक आस्थाका रूपले मात्र नभई प्राकृतिकरूपले समेत विश्व प्रसिद्ध हलेसीको चौतर्फी विकास गर्न अध्ययन अनुसन्धानदेखि आवश्यकताअनुसार पुरातात्विक महत्वलाई ख्याल गर्दै निर्माणको कार्य गर्नेसमेत उल्लेख गरेको छ ।

समितिको कार्ययोजना अनुसार हलेसी गुफाको भौगर्भिक अनुसन्धान गरी गुफाको दीर्घकालीन संरक्षण योजना बनाउने, त्रिधार्मिस्थलको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बारेमा विज्ञमार्फत अनुसन्धान गरेर सोधग्रन्थ प्रकाशित गर्ने, हलेसीमा हिन्दू र बौद्ध धर्मावलम्बीको धार्मिक प्रतीकको रूपमा मन्दिर र गुम्बा रहे पनि किराँत धर्मावलम्बीको प्रतीक नरहेकाले आवश्यक अध्ययन गरी किराँत धर्मावलम्बीले पुज्दै आएको ‘तीन चुल्हा’लाई प्रतीकको रूपमा स्थापना गर्ने भएको छ ।

त्यस्तै गुफाभित्रको पदमार्ग, मुख्य मन्दिरको बाहिरी ढोकालगायत वरिपरिको घेराबारलाई पुरातात्विक हिसाबले व्यवस्थापन गर्ने, भैरवथानमा आउने भलपानीलाई उचित व्यवस्थापन गर्दै पूजाआजाको प्रबन्ध मिलाउने, खानेपानी, सरसफाइ, शौचालयलगायतलाई उचित व्यवस्थापन गर्ने, विकास समितिको क्षेत्राधिकारअनुसार हलेसी मन्दिरका साथै छिमेकी वडामा रहेका धार्मिकस्थलहरुको प्रवर्द्धन, विकास र व्यवस्थापन गर्दै आपसी सम्बन्ध स्थापित गर्ने, हलेसी मन्दिरका सरोकारवाला तथा लक्षित समुदायसँग विभिन्न छलफल, अन्तर्क्रिया, तालिम, गोष्ठी, सेमिनारजस्ता क्रियाकलाप गरी रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ ।

यस्तै हलेसी मन्दिर आसपासमा धार्मिकसभाहरु सञ्चालन गर्न सभाहल नभएकाले आगामी दिनमा सभाहल, सूचना केन्द्र र पार्किङस्थल निर्माण गर्ने, हलेसी मन्दिर संरक्षण गर्न तत्काल भैरवथानसहित केही आवश्यक स्थान अधिग्रहण गर्न सङ्घीय सरकारसँग आवश्यक मुआब्जा माग गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

हलेसी मन्दिर अगाडिबाट सञ्चालनमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने सडक उपयुक्त ठाउँबाट सञ्चालन गर्ने गरी परिवर्तन गर्ने, आगामी दिनमा तीनवटै धर्मावलम्बीसँग समन्वय गरेर वर्षमा कम्तीमा पनि १० वटा बृहत् मेला लगाउने, हलेसी आउने धार्मिक पर्यटकलाई आसपासमा रहेका मन्दिरमा समेत पुर्याउन पथप्रदर्शक, होमस्टे (घरबास), होटललगायत व्यवस्थापन गर्ने, हलेसी क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा विकास गर्न पशुपक्षीपालन तथा काटमारमा पूर्णरूपले प्रतिबन्ध लगाउने, हलेसी मन्दिर वरिपरि निर्माण गरिएको पदमार्गमा ढुङ्गा बिछ्याउने र आसपासका गुफासम्म पुग्न पदमार्ग निर्माण गर्ने निर्णय गरिएको समितिले गरेको छ ।

“विकास समितिले अघि सारेको योजनाहरु कार्यान्वयनमा ल्याउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ”, अध्यक्ष टंक राईले भने, “हलेसी मन्दिर प्रकृतिले दिएको एउटा अनुपम उपहार हो । यसलाई प्राकृतिकरूपमै चौतर्फी विकास गरेर संसारभरका मानिसको आकर्षणको कन्द्रविन्दु बनाउने योजनामा लागिपरेका छौँ ।”

हलेसीको महत्व

विश्वको एकमात्र त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदासूचीमा समेत सूचीकृत गर्ने प्रक्रियामा छ । घुम्न आउने पर्यटकका लागि वातावरणीय हिसाबले समेत हलेसी उपयुक्त ठाउँमा छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै हिमाली शृङ्खलादेखि तराईका विभिन्न फाँटहरुको दृश्यावलोकनसमेत गर्न सकिन्छ । हिउँद र वर्षा जुनसुकै समयमा पनि एउटै मौसम रहने हुँदा हलेसी सबैको रोजाइमा पर्ने गरेको छ ।

हिन्दू धर्मको किंवदन्तीअनुसार भष्मेश्वर नामक राक्षसले पार्वती पाउनका लागि हजारौँ वर्ष भगवान् विष्णुको तपस्या गर्छन् । त्यसपछि, वरदान दिने क्रममा भष्मेश्वरले शिवजीलाई मार्न पाउनुपर्ने वरदान माग्छन् । सोही वरदानअनुसार शिव र पार्वतीलाई खेद्दै जाने क्रममा हलेसी आएपछि, शिवपार्वती गुफाभित्र पस्छन् । भष्मेश्वर पनि त्यहीँ पस्छन् तर विष्णुले पुनः जाल रची भष्मेश्वरलाई नै भष्म बनाइदिएपछि शिव पार्वती त्यहीँ विराजमान भएको किंवदन्ती छ ।

बौद्धमार्गीहरुको धर्मग्रन्थमा बौद्ध धर्मगुरु पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको हुँदा मारातिका गुम्बाको समेत स्थापना गरी महत्वपूर्ण स्थानको रूपमा उल्लेख गरेको पाइन्छ । यस धार्मिक तथा पर्यटकीयस्थलका पमा रहेको मनोरम गुफालाई बौद्ध धर्मावलम्बीहरुले उच्च सम्मान व्यक्त गर्दै हजारौँ देशी तथा विदेशी पर्यटक आउने गरेका छन् ।

किराँत धर्मावलम्बीको किंवदन्तीअनुसार किराँती राजा बाघवंशी शिकार खेल्ने क्रममा विसं १८२० तिर मृग खेद्दै गर्दा आफ्नो कुकुर हराउँछ । कुकुरको खोजी गर्दा उनले कुकुरको आवाज गुफाभित्र सुन्छन् । गुफाभित्र लहराको सहारामा पस्दा चमकदार शिवलिङ्ग भेटिन्छ । त्यसपछि महादेवका रूपमा मानिदै आएको मानिन्छ ।

हलेसीमा चैतमा रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्री मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्छ । मेला भर्न नेपालका सबै जिल्लाका साथै अन्य देशहरु भारत, चीन, भुटान, बङ्गलादेश, जापान, अमेरिका, थाइल्याण्डलगायतबाट भक्तजन एवं दर्शनार्थी आउने गरेका छन् ।

हलेसीमा लाग्ने मेलाको अवसरमा अर्बौँको कारोवार हुने उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्व अध्यक्ष एवं हलेसीस्थित होटल हलेसी भिलेजका सञ्चालक राजेन्द्र लयालुले बताए । विभिन्न समयमा लाग्ने मेलामा देशी तथा विदेशी व्यापारीसमेत आ–आफ्नो व्यापार व्यवसाय लिएर हलेसी आउने गरेका छन् । -रासस

प्रकाशित मिति : बुधबार, १० भाद्र २०७७ १४:४३
प्रतिक्रिया दिनुहोस्