विशेष रुपान्तरण अभियानको कार्ययोजना बनाउँदै माओवादी सोलुखुम्बुको तेस्रो पूर्ण बैठक सम्पन्न
सोलुखुम्बु । ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’को कार्ययोजना पारित गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), सोलुखुम्बु जिल्ला समन्वय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम सल्लेरीमा सम्पन्न उक्त बैठकबाट तीन महिने सो अभियानको लागि कार्यविभाजन सहितको स्पष्ट कार्ययोजना पारित गरेको पार्टी जिल्ला समन्वय समितिका संयोजक असिम राईले जानकारी दिनुभयो ।
उहाँकाअनुसार बैठकले आउँदो भदौं १० देखि १२ गते लिखुपिके गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाबाहेकका पालिका समितिहरुको बैठक सम्पन्न गर्ने, भदौ १५ भित्र सो पालिकाका सबै वडाहरुको बैठक गरिसक्ने तथा १५ गते लिखुपिके गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको बैठक गर्ने निर्णय गरेको छ ।
त्यसैगरी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनका लागि जिल्ला समन्वय समिति सदस्य प्रकाश खालिङको संयोजकत्वमा जिल्ला सञ्चार एवं प्रचार समिति गठन गर्ने तथा जिल्ला समन्वय समिति संयोजक असिम राईको नेतृत्वमा जिल्ला सचिव नाम्गेल शेर्पा, गौरब राई, गणेश कुमार राई (बसन्त) र जुद्धबहादुर कार्की सदस्य रहेको जिल्ला आर्थिक समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै पार्टीका अध्यक्ष प्रचण्डले भदौं १६ गते उद्घाटन गर्ने जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानमा सक्रियाताका साथ सहभागि हुनका लागि सबै आआफ्नो वडामा केन्द्रित हुने पनि निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति संयोजक असिम राईको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य अजम्बर काङमाङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य सरेशकुमार राई (हिमाल), भरखरै सोलुखुम्बु जिल्ला ईन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएका केन्द्रीय सदस्य एकराज बराल, अर्का केन्द्रीय सदस्य लोचन केसी, प्रदेश समितिका सहसचिव सागर किराती, जिल्ला सहईन्चार्जद्धय ध्रुव पराजुली र हिमाल गिरीलगायतको उपस्थिति रहेको थियो ।
बैठकमा उपस्थित केन्द्रीय नेताहरुले प्रशिक्षणमुलक मन्तव्य राख्दै तीन महिने अभियान आम नेता, कार्यकर्ता र सिंगो पार्टीलाई रुपान्तरण गर्दै संगठन सुदृढिकरणको स्पष्ट कार्यदिशा तयार गर्ने अभियान भएकाले यसमा केन्द्रित भएर अघि बढ्न सबैलाई निर्देशन दिए । यही अभियानको जगमा टेकेर विधान सम्मेलन गर्ने र त्यसपछि विशेष महाधिवेशन गरेर समय सापेक्षित पार्टीको कार्यदिशा र संरचना निर्माण गर्ने भनाइ नेताहरुको थियो ।