एनएमएको ३५औं वार्षिक साधारण सभा असोज २४ गते काठमाडौंमा हुँदै, तयारी पूरा

काठमाडौं, २२ असोज । नेपाल पर्वतारोहण संघ (एनएमए)को ३५औं केन्द्रीय वार्षिक साधारण सभा यही असोज २४ गते शुक्रबारको दिन हुँदैछ । गैरीधारास्थित सिल्भर ओक बैंकेट एण्ड इभेन्टस् सेन्टरमा मध्यन्ह १२ बजेबाट सुरु हुने उक्त वार्षिक साधारण सभामा उपस्थितिका लागि संघले आफ्ना सदस्यहरुलाई अनुरोध गरेको छ ।
संघका महासचिव राजेन्द्र बहादुर लामाले साधारण सभाको तयारी पूरा भएको पुगेको जानकारी दिनुभयो । उहाँअनुसार वार्षिक साधारण सभाबाट महासचिवले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र कोषाध्यषद्धारा आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ बजेट (अनुमानित आय व्यय विवरण) प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरी अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै सोही सभाले आर्थिक वर्ष २०८२/०८३ को लेखा परिक्षणका लागि लेखा परिक्षक नियुक्ति, वार्षिक साधारणसभाको माइन्युट प्रमाणिकरणका लागि दुई जना प्रतिनिधि छनोटलगायतको कामसमेत गर्नेछ ।
साधारण सभाको दिन असोज २४ गते दिनको १ बजेसम्म सदस्यता नवीकरण गर्ने साधारण सदस्यहरुले साधारण सभामा सहभागिता जनाउन पाउने भनिएको छ । साधारण सभामा संघद्धारा जारी गरिएको परिचय पत्र अनिवार्य रुपमा साथमा लिएर आउनसमेत अनुरोध गरिएको छ ।