निर्माण व्यवसायी महासंघको अध्यक्षमा शेर्पाको उम्मेद्वारी घोषणा
काठमाडौं / नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा आङ दोर्जी लामा शेर्पाले उम्मेद्वारी घोषणा गरेको छ । आगामी चैत १७–१९ मा हुने २६औं साधारणसभा तथा निर्वाचनका लागि वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्षसमेत रहेका शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिएको हो ।
रामेछाप बाम्ती भण्डार, सोर्तामु निवासी उनी नेपाल शेर्पा संघका पूर्व अध्यक्ष तथा विश्व शेर्पा संघका संस्थापक अध्यक्ष पनि हुन्। नेपाल शेर्पा संघमा रहँदा उनले काठमाडौंको गोकर्ण नारायणटारस्थित संघको कार्यालय भवन खरिद गर्नुका साथै विभिन्न सुधारका कामहरू गर्नुभएको थियो।
शेर्पाले निर्माण क्षेत्रमा देखिएको गम्भीर समस्या समाधान गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताए । उनका अनुसार सरकारी भुक्तानीमा ढिलाइ, बिना बजेटका ठेक्का, कानुनी जटिलता र डिजाइन त्रुटिका कारण धेरै आयोजना प्रभावित भएका छन्।
उनले अस्वस्थ प्रतिस्पर्धा, न्यून बिडिङ र निर्माण व्यवसायीको अत्यधिक वृद्धि मुख्य चुनौती भएको बताए । साथै, नयाँ व्यवसायी दर्ता प्रक्रियालाई व्यवस्थित गर्न सरकारसँग पहल गर्ने उनको एजेण्डा छ ।
शेर्पाले निर्माण क्षेत्र सुधारका लागि ‘छाता ऐन’ ल्याउन, नीतिगत सुधार गर्न र समयमै भुक्तानी सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

