Logo

असंवैधानिक कदमविरुद्ध नेकपा माप्य दुधकोशी एक ढिक्का, २०१ सदस्यीय संघर्ष समिति घोषणा


सोलुखुम्बु । गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै त्यसविरुद्ध माप्य दुधकोशी गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक ढिक्का भएर भण्डाफोर अभियानमा लाग्ने भएको छ । गाउँपालिका पार्टी कमिटीले सयौंको उपस्थितिबीच बुधबार गाउँपालिकामा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमबाट सो उद्घोष गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज हेमकुमार राई (सुरबीर)ले संघीयताको संस्थागत कार्यान्वयनसँगै समाजबादउन्मुख कार्यक्रम अघि बढाइरहेको सन्दर्भमा केपी ओलीले सार्वभौम जनताको सर्वोच्च निकाय संसद विघटन गरेर नेपाली जनताको भावना र सपनाको हत्या गरेको बताउनुभयो । उहाँले हिजो पञ्चेहरु र राजामहाराजाहरु जस्तै केपी ओलीले अपराध गरेको भन्दै यत्ति ठूलो अपराध गर्ने कम्युनिष्ट पार्टीको पहिलो नेताको रुपमा ओलीले आफ्नो नाम दर्ज गरेको टिप्पनी गर्नुभयो ।

आफुहरु निर्वाचित भइसकेपछि हरेक क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धिहरु हासिल भइरहेको र राजनीतिक स्थायित्वतर्फ मुलुक गइरहेको बेला त्यसलाई बे्रक लाउनेगरी संसद विघटन गर्नु प्रतिगमनको ठोस प्रमाण भएको तर्क उहाँको थियो ।

ओलीसँग विचार र सिद्धान्त केही पनि नभएको र जालझेल, सड्यन्त्र, ढाक छलभन्दा अरु केही पनि नजानेको उल्लेख गर्दै सोलुखुम्बु जिल्लाबाट निर्वाचित संघीय सांसदसमेत रहनुभएका राईले ओली एण्ड कम्पनी आफ्ना भजनमण्डली चेलाहरुमार्फत म्यादी पद खडा गरेर आश्वासन बाढ्दै हिडेको हुनाले त्यस्तो आश्वासनमा नपर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

ओलीसँग संसद विघटन गर्नुको कुनैपनि कारण र तर्क नभएपछि सरकारलाई काम गर्न दिइएन भन्दै हिड्नु असक्षमताको पराकाष्ठ भएको भनाई उहाँको थियो । ‘तीन आर्थिक वर्षमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा हस्ताक्षर नगर्ने नेकपाबाट निर्वाचित कुनै एक जना सांसद कोही छ ?’ उहाँले अगाडि भन्नुभयो ‘कोही पनि छैन । ओलीको सबैखाले कुराहरुलाई हामीले आलोचनात्मक समर्थन गर्यौं । अनि कहाँनेर काम गर्न दिइएन ? त्यसैले सरकारलाई काम गर्न दिइएन भन्नु बेइमानी हो । असक्षमताको पराकाष्ठ बाहेक अरु हुन सक्दैन ।’

पार्टीका अर्का केन्द्रीय सदस्य शिव बहादुर बस्नेत (राजेन्द्र)ले ओलीको आत्मकेन्द्रीत, सर्वसस्ताबादी र असंवैधानिक कदमविरुद्धको भण्डाफोर अभियानमा आम पार्टीपंक्ति एकढिक्का हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले ओलीले मुलुकको संविधानका धज्जी उडाउनुका साथै पार्टीको विधानसम्मत विधिपद्दती र आम नेपाली जनताको चाहाना र भावनामा कुठाराघात गरेर आफ्नो स्वार्थपूर्तिका लागि लिन भएर लागेको आरोपसमेत लगाउनुभयो । माप्य दुधकोशी गाउँपालिका पार्टीको एकता र सामुहिकताको भावनाबाट आफु प्रभावित भएको भन्दै उहाँले यही जगमा टेकेर यो गाउँपालिकालाई पहिलो र नमुना समाजवादी गाउँको रुपमा विकास गर्न सकिने अवधारणाको आवश्यकता औल्याउनुभयो ।

नेकपा प्रदेश कमिटी सदस्य तथा निर्वाचन क्षेत्रीय समन्वय कमिटी (ख)का ईन्चार्ज आङङिमा लामाले ओली राष्ट्रघाती नेता भएको उल्लेख गर्दै संसद विघटन गर्ने असंवैधानिक र प्रतिगामी कदम सच्चाउन नसकिए देश दुर्घटनातर्फ धकेलिने बताउनुभयो । असंवैधानिक कदमविरुद्ध नेकपाले गठन गरेको सोलुखुम्बु जिल्ला संघर्ष समितिका संयोजकसमेत रहनुभएका लामाले कुनैपनि हालतमा संसद पुनस्थापना गरेर संवैधानिक बाटो अवलम्बन गर्ने तथा पार्टीपंक्तिलाई विधानसम्मत विधि र पद्दतिमा लैजानका लागि आवश्यकताअनुसार संघर्षको स्वरुप बदल्दै लैजाने बताउनुभयो ।

प्रदेश कमिटी सदस्य तथा निर्वाचन क्षेत्रीय समन्वय कमिर्टी (ख)का सहईन्चार्ज ठमनाथ पराजुली (धु्रब) मुलुकमा ओली प्रबृत्तिको अन्त्य नभएसम्म मुलुकको राजनीतिक अस्थिरता कायमै रहने बताउँदै त्यसनिम्ति सिंगो पार्टीपंक्ति लाग्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला सचिवालय सदस्य तथा माप्य दुधकोशी गाउँपालिकाका जननिर्वाचित अध्यक्ष बुद्धिकिरण राईले असंवैधानिक कदमविरुद्ध माप्य दुधकोशी गाउँपालिकामा नेकपा एक ढिक्का रहेको भन्दै कोहीकसै आफ्नो स्वार्थ पूर्तिका लागि पार्टीबाट उछिटिएर जानेहरुले भ्रमको खेति गर्न सक्नेतर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

पार्टी गाउँपालिका कमिटीका अध्यक्ष गौरब राईको सभापतित्व तथा गाउँपालिका कमिटी सचिव धनबहादुर राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य विष्णु बास्तोला, जिल्ला कमिटीका कार्यलय सदस्य ङिमा तेण्डुप शेर्पालगायतले सम्बोधन गर्नुभएको थियो ।

सोही कार्यक्रमबाट पार्टीका जिल्ला कमिटी सदस्य रमेश राईको संयोजकत्वमा जिल्ला कमिटी सदस्य तथा गाउँपालिका कमिटी सचिव धनबहादुर राई सहसंयोजक, गाउँपालिका कमिटी सदस्य तथा जननिर्वाचित वडा अध्यक्ष डबलसिं राई सचिव र गाउँपालिका कमिटी सदस्य भुपाल मगर प्रवक्ता रहनेगरी २०१ सदस्यीय गाउँपालिका संघर्ष समितिको घोषणासमेत गरिएको छ ।

यसैबीच, नेपाली कांगे्रस पार्टी परित्याग गरी २८ जनाले नेकपा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि राईले खादा ओडाएर पार्टी प्रवेश गराउनुभयो ।

फोटोः तेसबहादुर राई गणेश कुमार राई

प्रकाशित मिति : बिहीबार, १ माघ २०७७ ११:३५

Archives

प्रतिक्रिया दिनुहोस्