सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व संकलनमा बढोत्तरी, साँढे १५ करोड संकलन
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व संकलनमा बढोत्तरी भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १५ करोड ४७ लाख ६० हजार ५ सय ६६ रुपैयाँ राजस्व संकलन भएको छ ।
जबकी, गत आर्थिक वर्ष २०७९/८० मा १४ करोड ८१ लाख ३६ हजार ८ सय १ रुपैयाँ राजस्व संकलन भएको थियो ।
निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी मनोज कुमार मण्डलका अनुसार बन पैदावार, पर्यटक भ्रमणमा गए बापत तथा हेलिकप्टर ल्यान्डिङ, दण्ड जरिवाना लगायतबाट उक्त राजस्व संकलन गरिएको हो ।
यो वर्ष स्वदेशी र विदेशी नागरिक गरी ५६ हजार ५ सय २२ जनाले निकुञ्ज क्षेत्रमा भ्रमण गरेको तथ्यांकले देखाएको छ । प्रत्येक हेलिकप्टर सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवतरण गरेबापत ३ हजार रुपैयाँ शुल्क लिइदै आएको छ ।
विसं २०३२ मा स्थापना भएको निकुञ्ज ११४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।
सन् १९७९ देखि निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएको थियो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।