बोल्ड महिला पर्यटन व्यवसायी गीता गुरुङ

गीता गुरुङ नेपाली पर्यटन बजारमा स्थापित नाम हो । ७ महिनाअघि भएको ठमेल पर्यटन बिकास परिषद्(टीटीडीसी)को निर्वाचनमा सर्वाधिक मतका साथ उपाध्यक्षमा निर्वाचित भएकी गुरुङ ठमेल क्षेत्रमा एक सशक्त महिला नेतृत्वको रुपमा परिचित छिन् । ठमेल सातघुम्तीकी रैथाने हुन् उनी । काठमाण्डौ एकेडमीबाट ओ लेभल अध्ययन पुरा गरेकी उनले दर्जनौ मुलुकको भ्रमण गरीसकेकी छन् । पर्यटन क्षेत्रमा उनको संलग्नता भने उनको दाईको कारणले भएको मान्छिन् । उनका दाई रेष्टुरेन्ट सञ्चालक थिए । उनी पनि उनकै सिको गर्दै पर्यटनमा पाईला चाल्दै हाल स्थापित व्यवसायी बनेकी छन् ।
भ्रमण बर्ष सफल बनाउन टीटीडीसीले बनाएको टीममा उनी ईभेन्ट म्यानेजमेन्ट कोअर्डिनेटरको भुमिकामा छन । स्थानिय हुनुका हिसाबले ठमेल अन्तर्गतकै सातघुम्ती उपसमितिको संयोजकका हिसाबले त्यसक्षेत्रको बाटोघाटो, खानेपानी, ढलबिस्तार, अन्यन्त्रीत तार व्यावस्थापन र ट्राफिक समस्या लगायत बिदेशी पर्यटकहरु आउँदा उनीहरुलाई परेका समस्याबारे उनले सहजीकरण गर्दै आएकी छन् । सडक बालबालिकाका क्षेत्रमा समेत क्रियाशिल उनी आफ्नै नेतृत्वमा सन २०१३ देखि ‘रेज अफ होप’ नामक संस्था सञ्चालनमा छ । यसले बिशेषतः आर्थिक रुपमा बिपन्न परिवार र सडक बालबालिकाको शिक्षा, स्वास्थ र जिबनको मार्गदर्शन पहिल्याउने अर्थमा काम गरिरहेको छ ।
आन्तरीक पर्यटनको स्थति बुझ्न उनी बेलाबखतमा बिभिन्न हिमाली क्षेत्रको भ्रमणमा समेत जाने गरेकी छन् । पर्यटकीय स्थलहरुमा सडक निर्माण हुँदा सहजता हुने भएपनि ट्रेकिङ रुट मासिन नहुनेमा उनको जोड छ । नाङ भ्रमणका क्रममा केही समयअघि मात्र उनले गरेको अध्ययन भ्रमणले पनि बास्तबिक टुरिष्टहरु ट्रेकिङ बाटै जाने र गाडि गुड्दा उड्ने धुलोले उनीहरु बेखुसी हुने रहेछन, यस्तोमा टुरिष्टहरुलाई जोगाईराख्न पनि छुट्टै ट्रेकिङ रुट खोज्नुपर्ने र यसमा सरकारले आवश्यक व्यावस्थापन गर्न सकेको खण्डमा आफुहरुले नै ट्रेकिङ रुटको खोजी गरिदिने समेत उक्त भेटमा उनीहरुले बताएका थिए ।
अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिसकेपछि, पर्यटकहरुको पहिलो बसाई ठमेल नै हो । तर ‘टी जोन’को असर पर्यटक आवगमनमा पनि परेको छ । सुरुमा ठमेलमा जथाभावी सवारी आवगमन रोक्न आवश्यक पनि थियो । तर यसबारे बिकल्प नदिई, कार्यसमितिसँग छलफल नै नगरी अघिल्लो नेतृत्वले ठमेल भित्र ट्याक्सी नै छिर्न नदिने गरी जुन निर्णय गर्यो, त्यसैको दुष्प्रभाव अहिले व्यावसायिले भोगिरहेका छन । एयरपोर्टबाट आउने पर्यटक लगेज बाटोमा घिसारेर होटल चहार्नुपर्ने स्थीतिमा किन ठमेल आउने ?’ उनले भनिन् ।