Logo

चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण


काठमाडौँ । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले पेस गरेको विद्युत् महसुल प्रस्तावमा सर्वसाधारणको प्रतिक्रिया लिन भन्दै आयोगले बुधबार प्रस्तावित दरहरू सार्वजनिक गरको छ ।

प्राधिकरणले पेस गरेको प्रस्ताव फागुन १ गते आयोगमा दर्ता भएको थियो । प्राधिकरणले यसअघि मङ्सिर ८ गते गरेको महसुल समायोजनको प्रस्तावमा महसुल वृद्धिमा अस्वाभाविक आधार पेस गरेको भन्दै दर्ता गरेको थिएन । गार्हस्थ मूल्यमा कुनै परिवर्तन नगरिएको भन्दै कारण खुलाउन आयोगले पत्राचार गरेको थियो ।

त्यस्तै, पहिलो प्रस्तावमा महसुल समायोजनको आधारमा खर्च वृद्धि हुने प्रक्षेपण पेस गरेको थियो ।

पहिलो प्रस्तावमा गत आर्थिक वर्षमा ७७ प्रतिशत बढेको अन्य आय आगामी आवमा २८ प्रतिशत कम हुने, कालीगण्डकी ए, मध्य मस्र्याङ्दीजस्ता आयोजनामा गतवर्ष १० प्रतिशत खर्च घटेकोमा आगामी आवमा ५४ प्रतिशत बढ्ने र ट्रान्समिसन तथा नेटवर्क खर्चमा एक प्रतिशत कमी आएकामा आगामी वर्ष ११ प्रतिशत बढ्नेलगायतका दाबी प्राधिकरणले गरेको थियो । यसमा आयोगले १७ बुँदामा कारण खुलाउन माग गरेको थियो ।

प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुल संरचनामा पहिलोपटक सार्वजनिक यातायात चार्जिङ स्टेसनको महसुललाई समेटिएको छ । यसमा चार्जिङ स्टेसनले तोकिएको दरमा बढीमा २० प्रतिशतसम्म मात्र नाफा लिन पाउने व्यवस्था छ ।

यस्ता स्टेसनमा ३३ केभीका लागि पिक समयमा प्रतियुनिट आठ रुपियाँ ४० पैसा र अन्य समयमा छ रुपियाँ ६० पैसा र राति ११ बजेदेखि बिहान ५ बजेसम्म ४ रुपियाँ ४५ पैसा प्रस्ताव गरिएको छ । ११ केभी र लो भोल्टेजमा केही बढी प्रस्ताव गरिएको छ ।

पुसदेखि चैतसम्म भने पिक र अन्य समयको मात्र प्रस्ताव गरिएको छ । अफ पिकको सस्तो दर यसमा समेटिएको छैन । गोरखापत्र

प्रकाशित मिति : बिहीबार, ८ फाल्गुन २०७६ ०७:५१
प्रतिक्रिया दिनुहोस्