Logo

देश बनाउन सबै दल एक ठाउँमा उभिनु पर्छः मन्त्री किराती


उर्लाबारी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश बनाउन सबै एक ठाउँमा उभिनु पर्ने बताउनुभएको छ ।

बुधबार नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समितिले मोरङको उर्लाबारीमा २९ औं विश्व आदिवासी दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । भ्रष्टचार मानव समाजको शुत्र भएको बताउँदै भ्रष्टचार अन्त्यका लागि सबै दल एक ठाउँमा उभिनु पर्ने बताउनुभयो ।

नेपाली जनताले दिएको जनादेश अनुसार सबै मिलेर १० बर्ष समृद्ध देश बनाउन लागि पर्नु उहाँको भनाई छ । लोकतन्त्र, गणतन्त्र होस् वा संविधान निर्माणमा सबै दल मिलेर अघि बढ्दा सफलता हात पारेको स्मरण गर्दै मन्त्री किरातीले भ्रष्टचारलाई निमूल बनाएर देशलाई समृद्धितर्फ अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

‘स्वास्थ्य, शिक्षा र रोजगारीमा केन्द्रमा राखेर १० बर्ष कोही पनि प्रतिपक्षमा नबसौं’ उहाँले भन्नुभयो–‘ भ्रष्टचार सबैको शत्रु हो, भ्रष्टचार गर्नेलाई कानुनी कठघरामा ल्याउनैपर्छ ।’ ‘चुनाबमा एकअर्काबीच प्रतिष्पर्धा गरौंला’ उहाँले थप्दै भन्नुभयो–‘अहिले समृद्ध नेपाल बनाउन प्रतिपर्धा गरौं ।’

मन्त्री किरातीले राणा शासन फाल्न ,पञ्चायत फाल्न र राजतन्त्र फाल्न एकजुट भएका दलहरु भ्रष्टाचारविरुद्ध पनि एकजुट भएर लाग्न जरुरी भएको बताउनुभयो । नेपालमा रहेका आदिवासीका रैथाने संस्कृति, खानाको संरक्षण र प्रबद्र्धन गर्न सके विश्वका पर्यटकलाई आकर्षण गर्न सकिने उहाँको भनाई छ ।

नेपालमा परापुर्व कालदेखि पुर्खाले आर्जेको सीप संस्कृति र परिकारलाई परिस्कृत गरी पाँच तारे होटलदेखि सर्वसाधारणसम्ममा पुर्याउन सके विश्वका पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिने र मुलुक समृद्धि तर्फ जाने उहाँले बताउनुभयो । मन्त्री किरातीले नेपालको आफ्नै मौलिक संस्कृति र सांस्कृतिक सम्पदा हुँदाहुँदै विदेशी संस्कृति र सम्पदाको नक्कल गर्नु मूर्खता भएको बताउनुभयो ।

नेपाल संस्कृति र प्रकृतिले धनी भएकाले पर्यटनको विकासका लागि नयाँ संरचनाहरू बनाउनुभन्दा पनि विद्यमान मौलिक संस्कृति, सम्पदा र प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने उहाँको भनाइ छ । रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समितिका अध्यक्ष समशेर लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य विद्या चाम्लिङ, नेपाली कांग्रेसका कोशी प्रदेश सहमहामन्त्री तथा पूर्व नगरप्रमुख खड्गबहादुर फागो, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपमेयर मीना पौडेल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न जातजातिको झाँकी प्रर्दशन गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, २४ श्रावण २०८० १९:२४
प्रतिक्रिया दिनुहोस्