Logo

ट्रेकिङ गाइडलाई क्रेडिट कार्ड उपलब्ध गराउन टान र माछापुच्छ्रे बैंकबीच सम्झौता


ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र माछापुच्छ्र बैंकबीच ट्रेकिंग गाईडहरूलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्बन्धमा दुईपक्षीय समझदारी भएको छ  ।

उक्त समझदारीपत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण पर्यटन क्षेत्र र मजदुरहरुमा पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर राख्दै  टानको पहलमा आफ्ना सदस्य कम्पनीहरुमा कार्यरत ट्रेकिंग गाईडहरुलाई सहजिकरण गर्न  माछापुच्छ्रे बैंकसंग समझदारी गरेको टानका महासचिव सरिता लामाले जनाइन् ।

बैंक र टानबीच टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिंग गाईडहरुलाई मासिक १५ हजार रुपैयाँ गरी अधिकतम १ लाख ८० हजार रुपैयाँसम्मको सिमा सहितको क्रेडिट कार्ड उपलब्ध गराईने सम्झौता भएको छ । सो सीमा आंशिकरूपमा ९० हजार रुपैयाँ गरी दुई वटा चरणमा प्रत्यक अर्ध वार्षिक समयावधिमा प्रदान गरिनेछ ।

क्रेडिट कार्ड सुविधा उपभोग गर्नका लागी आवेदकको उमेर न्यूनतम २१ बर्ष र अथिकतम ६५ बर्ष हुनुपर्दछ र ट्रेकिंग गाईडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अथोरिटि दिनुपर्नेछ ।

सो सुविधा प्रयोग गर्न ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग कम्पनीले जमानत अनिवार्य बस्नु पर्नेछ र यदि ट्रेकिंग गाईडले शर्त बमोजिम रकम भुक्तान गर्न नसकेको अवस्थामा बाँकी रहेको बक्यौता तिर्ने दायत्व ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग एजेन्सिको हुनेछ ।

उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा टानका महासचिव सरिता लामा, वरिष्ठ उपाध्यक्ष नविन त्रिताल, कोषाध्यक्ष ऋतु ग्याम्दान, सदस्य कान्छा शेर्पा, माछापुच्छ्रे बैंकका प्रबन्धक सुनिल खतिवडा, उपप्रमुख (डिजिटल बैंकिंग) विनय रेग्मी र शाखा प्रबन्धक समिर रैनको उपस्थिति रहेको थियो

प्रकाशित मिति : सोमबार, ८ असार २०७७ १९:२०
प्रतिक्रिया दिनुहोस्