Logo

दावा टसी शेर्पाको नेतृत्वले नेपालका माउन्टेन लिडरलाई दिलायो अन्तर्राष्ट्रिय मान्यता, समग्र पर्यटन क्षेत्रका लागि नयाँ सन्देश


काठमाडौं, १९ कात्तिक । नेपालका माउन्टेन लिडरहरुले औपचारिक रुपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । नेपाल माउन्टेन लिडर एसोसिएशनका वर्तमान अध्यक्ष दावा टसी शेर्पा नेतृत्वको टिमले नेपालका माउन्टेन लिडरहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै साहसी यात्रुहरूका लागि सुरक्षित र जीवन्त अनुभव सुनिश्चित गर्नुका साथै नेपालको पर्यटनलाई विश्वमा छुट्टै पहिचान दिन सफल भएको छ ।

यूरोपको मेसोडोनियामा २ नोभेम्बर २०२४ का दिन सम्पन्न ईन्टरनेशनल माउन्टेन लिडर एसोसिएशन (यूआईएमएलए)को साधारण सभामा सहभागि यूरोपको २५ देशबाट मतदान गरी बहुमतद्वारा नेपाललाई पूर्णकालिन सदस्य देश घोषित गरिएको हो ।

एसोसिएशनका अध्यक्ष दावा टसी शेर्पाले दिनुभएको जानकारीअनुसार नेपाल पर्वतारोहण संघले विभिन्न चरणमा सन्चालन गर्दै आईरहेको माउन्टेन लिडर तालिमलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउनका लागि सन् २०१६ मा यूआइएमएलएको सदस्यतका लागि निवेदन पेस गरिएको थियो । यूआईएमएलएको वार्षिक साधारण सभाले सन् २०१७ मा नेपाललाई सम्भावित सदस्यत घोषणा गरी थप प्रक्रिया आगडि बढाइयो ।

सन् २०१९ मा सम्पन्न यूआइएमएलएको वार्षिक साधारण सभामा नेपालले यूरोपको रोमानियामा तालिम सम्बन्धी प्रस्तुति दिनका लागि निमन्त्रणा पायो । त्यसपछि नेपाल माउन्टेन लिडर एसोसिएशनका तत्कालिन अध्यक्ष केशर श्रेष्ठ र महासचिव दावा टसी शेर्पाले उक्त साधारण सभामा नेपालको तालिम सम्बन्धी प्रस्तुतिकरण दिए र सोही साधारण सभाले नेपाललाई आधिकारिक सदस्यता प्रदान गरेको थियो ।

यूआईएमएलएको नियमअनुसार सदस्यता लिइसकेका देशहरूले तालिमको स्तर मुल्यांकन गर्न तालिम सञ्चालनको दौडानमा फरक फरक देशबाट प्रतिनिधि बोलाई तालिमको स्तर निर्धारण गरेपछि मात्र उक्त संस्थाको पूर्णकालिन सदस्यता प्राप्त हुन्छ ।

नेपाल पर्वतारोहण संघले सन्चालन गरेको तालिमलाई विभिन्न चरणमा गरेको मूल्याङ्कन प्रतिवेदन र नेपाल माउन्टेन लिडर एसोसिएशनका वर्तमान अध्यक्ष दावा टसी शेर्पाले दिएको प्रस्तुतिलाई एकमुष्ठ मुल्यांकन गरी यूरोपको मेसोडोनियामा २ नोभेम्बर २०२४ मा सम्पन्न वार्षिक साधारण सभामा यूरोपको २५ देशमध्ये बहुमत भोट प्राप्त गरी नेपाललाई पूर्णकालिन सदस्य देश घोषित गरिएको हो ।

यो उपलब्धिबाट नेपालको पर्वतारोहण तथा पदयात्रा क्षेत्रलाई विश्वसामु चिनाउने महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।एसोसिएशनका अध्यक्ष शेर्पाले यो उपलब्धिले नेपालमा पदयात्रा र पर्वतारोहण गर्न चाहने विदेशी पर्यटकलाई थप उत्साहित गराउनुका साथै पर्यटन उद्योगलाई थप सवल बनाउने विश्वास व्यक्त गर्नुभयो ।

‘यो मान्यताले नेपालका पदयात्रा र पर्वतारोहण गतिविधिलाई विश्वसनीय, सुरक्षित र व्यावसायिक बनाउने दिशामा ठोस प्रभाव पार्नेछ’, संघका अध्यक्ष शेर्पाले भन्नुभयो ‘यसले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश पुर्याउँछ र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी अझ उजिल्याउने छ ।’

 

 

प्रकाशित मिति : सोमबार, १९ कार्तिक २०८१ २३:३८
प्रतिक्रिया दिनुहोस्