Logo

सांसद राई नेतृत्वको सोलुखुम्बुका जनप्रतिनिधिहरुको टोलीले स्वास्थ्यमन्त्री ढकाललाई भेट्यो


काठमाडौं, १७ कात्तिक । संघीय सांसद हेमकुमार राई (सुरबीर)को नेतृत्वमा सोलुखुम्बुका जनप्रतिनिधिहरुको टोलीले स्वस्थ्यमन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गरेको छ । जनप्रतिनिधिहरुको टोलीले सोमबार स्वास्थ्यमन्त्री ढकालको कार्यकक्षमै गएर गरेको भेटमा प्रत्येक स्थानीय तहमा १५ सैयाँको अस्पताल बनाउने कार्यक्रमलाई अभिलम्ब कार्यन्वयनका लागि आग्रह गरेको छ ।

प्रत्येक स्थानीय तहमा १५ सैयाँको अस्पताल निर्माण गर्ने सरकारी योजनाअनुरुप पहिलो चरणमा भौतिक संरचना निर्माणका लागि प्रत्येक स्थानीय तहलाई १४/१४ करोड रुपैयाँको दरले बजेटको व्यवस्था गरिएको छ । सोअन्तर्गत सोलुका स्थानीय तहहरुको हकमा सुरुवाती बजेटको रुपमा कम्तिमा ७० देखि २ करोडसम्म विनियोजन भइसकेको छ । त्यसलाई अख्तियारी लिएर कार्यन्वयनमा ल्याउन मात्रै बाँकी भएको सन्दर्भमा जनप्रतिनिधिहरुको टोलीले स्वास्थ्यमन्त्री ढकाललाई भेटेर अख्तियारीलगायतको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरेको हो ।

१५ सैयाँको अस्पताल निर्माणका लागि कम्तिमा १० रोपनी क्षेत्रफल भएको जग्गा उपलब्ध हुनुपर्ने मापदण्ड छ । संघ सरकारबाट बजेटको व्यवस्था गरिएपनि सम्बन्धित स्थानीय तहहरुमार्फत नै सबै काम कार्यान्वयन गरिनुपर्ने भएकोले अस्पताल निर्माणको काम छिटो र दीगो बनाउका लागि सबैले आआफ्नो ठाउँबाट सहजीकरणको वातावरण तयार गर्न जनप्रतिनिधिहरुको टोली नै गएर स्वास्थ्यमन्त्रीसँग भेटवार्ता गरिएको संघीय सांसद हेमकुमार राई (सुरबीर)ले शिखरपोष्टलाई बताउनुभयो ।

उहाँकाअनुसार १५ सैयाँको अस्पताल निर्माणका लागि विनियोति बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेकोले अब सम्बन्धित निकायबाट अख्तियारी लिएर कार्यन्वयन तहमा लैजाने भएकोले छिट्टै यसको कार्यान्वयन हुनेछ । सांसद राईले सोही भेटको क्रममा समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको सुधार तथा  विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसबाट पछिल्लो समयमा जिल्ला र समग्र मुलुकमा उत्पन्न समस्या र त्यसका समाधानका उपायबारेसमेत मन्त्री ढकालसँग गम्भिर छलफल भएको जानकारी पनि दिनुभयो ।

भेटको क्रममा मन्त्री ढकालले १५ सैयाँको अस्पताल निर्माणको लागि सम्बन्धित स्थानीय तहहरु र सम्बन्धित निकायले सहजीकरणको भूमिका खेल्नुपर्ने भन्दै अब बजेट कार्यान्वयनको विषयमा कुनैपनि ढिला सुस्ती नहुने प्रतिबद्धता जनाउनुभयो । उहाँले अहिले कोरोना भाइरसका कारण उत्पन्न समस्यासँग जुध्न तथा समग्र स्वास्थ्य क्षेत्रको दीगो विकासका लागि सबै एक जुट भएर लाग्न आग्रहसमेत गर्नुभयो ।

सांसद राई नेतृत्वको टोलीमा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराती, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, सोताङ गाउँपालिका अध्यक्ष बीरबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : सोमबार, १७ कार्तिक २०७७ २३:१०
प्रतिक्रिया दिनुहोस्