Logo

सोलुदुधकुण्ड र राष्ट्रिय बाणिज्य बैंकवीच सहुलियत कर्जा सम्झौता


सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक बिच सहुलियत कर्जा लगानीका लागि सम्झौता गरिएको छ । सल्लेरीस्थित नगरपालिकाको कार्यालयमा आज बुधबार नगरपालिकाको तर्फवाट प्रमुख नाम्गेल जाङबु शेर्पा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद चापागाई र राष्ट्रिय वाणिज्य बैंकको तर्फवाट प्रादेशिक कार्यालय विराटनगरका प्रमुख ऋषभ भट्टराई र सल्लेरी शाखाका प्रबन्धक चित्र खड्काले हस्ताक्षर गरेका हुन् ।

सोलुदुधकुण्ड नगरपालिका र बैंंक बिच सहुलियत दरको कर्जा प्रवाह गर्न सम्झौता भएपछि नगरपालिकाबासीले सहुलियत ब्याजदरमा कर्जा पाउनेछन् । नगरपालिकाको पहलमा एकीकृत सहुलियत कर्जा कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैकले अधिकतम २.७४ प्रतिशत ब्याजदरमै कर्जा दिन लागेको हो ।

व्यावसायिक कृषि तथा पशुपंक्षी,शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास,उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माणमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था सरकारले गरेको गरेकाले नगरपालिकाका नागरिकलाई यो सुविधा उपलब्ध गराउन लागिएको मेयर शेर्पाको भनाई छ ।

महिला उद्यमशीलतामा १.७४ प्रतिशत ब्याजमा अधिकतम १५ लाख सम्म कर्जा बैंकले उपलब्ध गराउने र पुरुषका हकमा २।७४ ब्याजदरमा कर्जा उपलव्ध हुने छ । नगद १५ लाख सम्म बैंकले बिना धितो कर्जा स्थानीय पालिकाको जमानतमा दिने छ । यसका अतिरिक्त कर्जा रकमको अनिवार्य विमा हुनुपर्ने प्रावधान छ । १५ लाख भन्दा माथि कर्जा आवश्यक परेमा अचल धितो बन्धक राख्नुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : बिहीबार, १५ माघ २०७७ ०५:३९
प्रतिक्रिया दिनुहोस्