भिटोफ-नेपालमा थपलिया नेतृत्वको नयाँ कार्यसमिति सर्वसम्मत, राष्ट्रिय सभा अध्यक्ष दाहालले दिए शुभकामना
काठमाडौँ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल)को अध्यक्षमा हरिशरण थपलिया सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंको होटल जी रामायणमा सम्पन्न मञ्चको २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट थपलियाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
सफिसियन्ट कार्गो प्रालिका सञ्चालक थपलियाले यसअघिको कार्यसमितिमा प्रथम उपाध्यक्षको रुपमा जिम्मेवारी बहन गर्नुभएको थियो । 
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मनहरि दाहाल, द्वितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिब भट्ट र सचिवमा सुरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा इन्दिरा रिमाल न्यौपाने र सह-कोषाध्यक्षमा नारायण सोडारी रहनुभएको छ ।
त्यस्तै सदस्यको रूपमा प्रदिपकुमार तामाङ, सुनिता पौडेल दवाडी, विनोद ढकाल र सुनिता अधिकारी न्यौपाने निर्वाचित हुनुभएको छ ।
भिटोफ नेपालकी वर्तमान अध्यक्ष सकुन्तला देवकोटाको अध्यक्षता तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारणसभामा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, काठमाडौं पर्यटन कार्यालयका प्रमुख पवन पोखरेल, तारागाउँ बिकाश समितिका सदस्य सचिब महेन्द्र थापा, चन्द्रकोट गाउँपालिका अध्यक्ष युबराज केसी, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टसँगै पर्यटकीय संघसंस्थाका अध्यक्ष तथा पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा ग्रामिण पर्यटन प्रवर्द्धन सम्बन्धी पुस्तक विमोचन तथा उत्कृष्ट होमस्टेलाई सम्मान गरियो । त्यस्तै, मञ्चले यस वर्षका लागि घोषणा गरेको ३ वटा गन्तव्य गाउँहरुलाई प्रमाण पत्र प्रदान गरिनुका साथै ४ जना पत्रकारलाई पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
विसं २०५४ सालमा नेपालको ग्रामीण क्षेत्रको पर्यटन विकासका लागि स्थापना भएको भिटोफ नेपालले हालसम्म देशभरका ३२ वटा गाउँमा सामुदायिक होमस्टे मार्फत पर्यटनको विकासमा योगदान पुर्याएको छ ।


