नेपाली पर्यटन उकास्न सरकारलाई अधिकारीको ६ बुदे सुझाव
काठमाडौं/ ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले मुलुकको पर्यटन प्रवर्द्धन र विकासका लागि सरकार समक्ष छ बुदे सुझाव पेश गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्यटनबाट मनग्य आम्दानी गर्ने विकसित मुलुकहरुको दृष्टान्त प्रस्तुत गर्दै नेपाली पर्यटन उकास्ने उपाय पेश गरेका हुन् ।
अध्यक्ष अधिकारीले भिसा शुल्कमा सहुलियत, अतिरिक्त शुल्क खारेज, हवाई भाडामा समानता, पर्यटन हबको घोषणा, नयाँ गन्तव्यको विकास र प्रचार, राजदूत मार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्ने विषयलाई व्याख्यात्मक रुपमा उल्लेख गरेका छन् ।
अधिकारी अगाडि लेख्छन्; देशको अर्थतन्त्रलाई थप गतिशील, दरिलो र भरिलो बनाउन पर्यटन क्षेत्रको सशक्त विकास अपरिहार्य छ। विश्व अर्थतन्त्रमा पर्यटनले महत्वपूर्ण योगदान पुर्याइरहेको सन्दर्भमा नेपालजस्तो प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको अपार सम्भावना भएको देशले यस क्षेत्रलाई प्राथमिकतामा राख्नु अत्यन्त आवश्यक देखिन्छ।
सन् २०२४ मा विश्वका पर्यटनबाट सबैभन्दा बढी आम्दानी गर्ने देशहरूमा संयुक्त राज्य अमेरिका, स्पेन, बेलायत र फ्रान्स अग्रस्थानमा रहेका छन्। संयुक्त राज्य अमेरिका ले मात्रै १८९.१ अर्ब अमेरिकी डलर आम्दानी गर्दै पहिलो स्थान ओगटेको छ भने जापान ३८.६ अर्ब डलर आम्दानीसहित दशौं स्थानमा रहेको छ।
यस्तो सन्दर्भमा नेपालमा पर्यटन क्षेत्र अपेक्षाअनुसार फस्टाउन नसक्नु गम्भीर चिन्ताको विषय हो। हामी कहाँ चुकेका छौं भन्ने विषयमा गम्भीर समीक्षा गर्दै केही तत्काल लागू गर्न सकिने सुझावहरू यसप्रकार छन् –
१. भिसा शुल्कमा सहुलियत:
विदेशी पर्यटकका लागि कम्तिमा एक महिनासम्मको भिसा शुल्क निःशुल्क गर्नुपर्छ।
२. अतिरिक्त शुल्क खारेज:
पर्यटक प्रवेश गरेपछि विभिन्न जिल्लामा लिइने अनावश्यक अतिरिक्त शुल्कहरू हटाउनुपर्छ।
३. हवाई भाडामा समानता:
आन्तरिक उडानमा नेपाली र विदेशी पर्यटकका लागि फरक–फरक भाडादरको व्यवस्था अन्त्य गर्दै समान दर कायम गर्नुपर्छ।
४. विशेष पर्यटन जोन घोषणा:
काठमाडौं, ललितपुर र भक्तपुर लाई विशेष पर्यटन जोन घोषणा गरी ‘हप–अन हप–अफ’ (Hop-on Hop-off) बस सेवा सञ्चालन गर्नुपर्छ।
५. नयाँ गन्तव्यको विकास र प्रचार:
नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरूको खोज, विकास र अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी प्रचारप्रसारमा सरकारको विशेष ध्यान जानुपर्छ।
६. राजदूतमार्फत पर्यटन प्रवर्द्धन:
विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई ती देशबाट निश्चित संख्यामा पर्यटक भित्र्याउने लक्ष्यसहित स्पष्ट निर्देशन दिनुपर्छ।
अन्ततः, पर्यटन क्षेत्रलाई सशक्त बनाउँदै अघि बढ्न सकेमा यसले देशको आर्थिक समृद्धिको बलियो आधार तयार गर्न सक्छ।

