सर्वोच्चको फैसलाबाट प्रधानमन्त्रीको राजीनामा रोक्ने काम भएको छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं, १७ फागुन । सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने भन्दै अब संसद्बाटै फैसला हुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सोमबार उनले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताए ।
संसद पुनःस्थापना भएपछि अधिवेशन अनिवार्य भएको र प्रतिनिधिसभा बैठक बोलाउनल सिफारिस गरेर अदालतको आदेशको कार्यान्वयन गरेको बताए । ‘प्रधानमन्त्रीले राजीनामा गर्नु हुन्न र संसदीय प्रक्रियाबाटै अब संसद् अधिवेशन आह्वान भइसकेको छ । त्यसबाटै आफ्नो फैसला गर्ने कुरा म राख्न चाहन्छु’, प्रवक्ता गुरुङले भने, ‘नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्नेहरूले राजनीतिक ढंगबाट संन्यास लिँदा अझ राम्रो हुने पो देखिन्छ ।’ उनले प्रधानमन्त्री ओलीले अहिले मैदान खाली नगर्ने पनि बताए ।